काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अहिले गम्भीर संकटको अवस्थामा रहेको भन्दै राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकढिक्का हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले देशको अस्तित्व र राष्ट्रियता नै जोखिममा रहेको बताए । उनले वर्तमान अवस्था किन सिर्जना भयो भन्ने विषयमा गम्भीर भएर बुझ्न आवश्यक रहेको धारणा राखे ।
‘अहिले देशको अवस्था अत्यन्त संकटग्रस्त अवस्थामा छ । देशको अस्तित्व खतरामा छ । देशको राष्ट्रियता खतरामा छ । यो किन भइरहेको छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ,’ उनले भने ।
कोइरालाले नेपाली कांग्रेसले सबै पक्षलाई समेटेर अघि बढ्दै आएको उल्लेख गर्दै पार्टीले कुनै पनि प्रकारको निरंकुशता स्वीकार नगर्ने बताए ।
‘नेपाली कांग्रेस मात्र एउटा यस्तो पार्टी हो, जसले सबैलाई सधैँ मिलाएर हिँडिरहेको पार्टी हो । हामी कुनै किसिमको निरंकुशता स्वीकार गर्दैनौँ । कसैको निरंकुशता नस्वीकार्ने पार्टी हो हाम्रो,’ उनले भने ।
उनले कांग्रेस अहिले विभाजित मानसिकताबाट गुज्रिरहेको भए पनि पार्टीलाई एकढिक्का बनाउन आवश्यक रहेको बताए । कांग्रेस एकताबद्ध हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
‘नेपाली कांग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको छ । मलाई विश्वास छ, नेपाली कांग्रेस एकढिक्का हुन जरुरी छ र हुन्छ भन्ने कुरामा पनि म विश्वस्त छु । देशका निम्ति एकढिक्का हुन जरुरी छ,’ कोइरालाले भने ।
कांग्रेस एकताबद्ध भएपछि अन्य राजनीतिक दलसँग सहमति, सहकार्य र एकताका साथ अघि बढ्नुपर्ने उनले बताए । देशमा राजनीतिक दलबाहेक अन्य शक्तिहरू पनि रहेको उल्लेख गर्दै राष्ट्रियता मजबुत बनाउन सबै पक्षसँग सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
उनले भने, ‘नेपाली कांग्रेस एकढिक्का हुने वित्तिकै अन्य दलहरुसँग हामीहरु सहमति सहकार्य र एकता गरिकन अगाडि बढ्नुपर्छ । अन्य दलबाहेक देशमा अन्य पनि शक्तिहरु छन् । ति शक्तिहरुसँग पनि हामीहरुले मिलेर काम गरेर राष्ट्रियतालाई मजबुत गर्न सक्यौं भने नेपाली कांग्रेसको भविष्य मात्रै होइन, देशको भविष्य नै उज्ज्वल हुन्छ भन्ने मलाई लाग्छ । प्रजातन्त्र भनौं, लोकतन्त्र भनौं अहिले अप्ठ्यारो परिस्थितिमा छ ।’
उनले कांग्रेसले अन्य राजनीतिक दल तथा देशका विभिन्न शक्तिसँग मिलेर राष्ट्रियतालाई मजबुत बनाउन सके कांग्रेसको मात्र नभई देशकै भविष्य उज्ज्वल हुने बताए ।
कोइरालाले प्रजातन्त्र तथा लोकतन्त्र अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको समेत बताए । लोकतान्त्रिक व्यवस्थामाथि चुनौती बढिरहेका बेला सबै लोकतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा उनले जोड दिए ।
View : 24
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved