Biratnagar, Morang, Nepal
शिक्षा

नेपाल बिजनेस कलेजद्वारा आयोजित ई–स्पोर्ट्स ओडिसीको उपाधि ‘Nepal on Top’ लाई

-
अखवारका कुरा
१३ भदौ २०८३, शनिवार

Advertisement

 

विराटनगर । ‘Nepal on Top’ टोलीले विराटनगरमा आयोजना भएको राष्ट्रियस्तरीय ESPORTS ODYSSEY Season 1 को उपाधि जितेको छ।

विराटनगर–११ स्थित नेपाल बिजनेस कलेजको आयोजनामा भदौ १० गते मारवाडी सेवा सदनमा सम्पन्न प्रतियोगिताको अन्तिम LAN चरणमा देशभरबाट छनोट भएका उत्कृष्ट १२ टोलीबीच प्रतिस्पर्धा भएको थियो।

उपाधि जितेको ‘Nepal on Top’ ले ५० हजार रुपैयाँ नगदसहित ट्रफी हात पारेको छ। ‘TRINETRA’ टोली दोस्रो हुँदै ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा ‘07 eSports’ तेस्रो स्थानमा रहँदै २० हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भएको आयोजकले जनाएको छ।

प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर (MVP) को उपाधि TRINETRA टोलीका Yuri ले जितेका छन्। उनले ट्रफीसहित ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

कुल १ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि रहेको प्रतियोगितामा देशभरबाट ४३२ टोलीले प्रारम्भिक चरणमा सहभागिता जनाएका थिए। पहिलो चरणबाट १४४ टोली दोस्रो चरणमा पुगेका थिए भने तीमध्ये ७२ टोली तेस्रो चरणका लागि छनोट भएका थिए। तेस्रो चरणबाट ३६ टोली सेमिफाइनलमा पुगेका थिए।

विभिन्न चरणको प्रतिस्पर्धा पार गर्दै देशभरका उत्कृष्ट १२ टोली अन्तिम LAN चरणका लागि विराटनगरमा पुगेका थिए। अन्तिम चरणमा ६० भन्दा बढी खेलाडी सहभागी रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा चौथोदेखि बाह्रौं स्थानसम्म हासिल गर्ने टोलीलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो। चौथो हुने टोलीले १५ हजार, पाँचौंले १० हजार, छैटौंले ६ हजार, सातौंले ४ हजार, आठौंले ३ हजार, नवौंले २ हजार ५ सय, दशौंले २ हजार र एघारौं तथा बाह्रौं स्थान हासिल गर्ने टोलीले १–१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए।

बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भएको प्रतियोगिता हेर्न विराटनगर तथा आसपासका क्षेत्रबाट ई–स्पोर्ट्सप्रेमी दर्शकको बाक्लो उपस्थिति रहेको थियो।

नेपाल बिजनेस कलेजकी निर्देशक तथा प्रिन्सिपल पिंकी शर्माले विश्वव्यापी रूपमा विस्तार भइरहेको ई–स्पोर्ट्स क्षेत्रमा नेपाली खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन्।

उनले भनिन्, “नेपालमा पनि ई–स्पोर्ट्समा रुचि राख्ने प्रतिभावान खेलाडी धेरै छन्। उनीहरूलाई उचित प्लेटफर्म उपलब्ध गराउँदै भविष्यमा अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर सिर्जना गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य हो।”

प्रतियोगिताको अन्तिम चरणमा पुगेका १२ टोलीका खेलाडीका लागि आयोजकले खाना तथा बसोबासको व्यवस्था गरेको थियो। विराटनगरमा पहिलोपटक आयोजना भएको राष्ट्रियस्तरको ई–स्पोर्ट्स प्रतियोगितालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने शर्माले जानकारी दिइन्।

नेपाल सरकारको शिक्षा मन्त्रालयको अनुमति तथा Lincoln University, Malaysia बाट सम्बन्धन प्राप्त नेपाल बिजनेस कलेजमा स्नातक तहमा BBA, BIT र BHM तथा स्नातकोत्तर तहमा MBA अध्ययन सञ्चालन भइरहेको कलेजले जनाएको छ।

View : 89

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved