विराटनगर – पत्रकार महासङ्घ मोरङ अध्यक्ष सुशीला पाठकलाई स्वर्गीय पदमप्रसाद–अम्बिकादेवी दाहाल स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजित समारोहमा सम्मान गरेको छ।
पत्रकारिता क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप पाठकलाई ११ हजार रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गरिएको हो। प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद दाहाल, महासचिव सूर्यकुमार दाहाल, निवर्तमान अध्यक्ष शालिग्राम दाहाल, युवराज दाहाल र नारायणप्रसाद दाहाललगायतले संयुक्त रूपमा पाठकलाई सम्मान गरेका हुन्।
समारोहमा प्रतिष्ठानअन्तर्गतका विभिन्न कोषमार्फत समाजका अन्य क्षेत्रका व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो।
स्वर्गीय विद्यादेवी, बाबुराम–सरस्वती दाहाल सेवा कोषबाट पण्डित भवानी शंकर निरौलालाई ३१ हजार रुपैयाँ, माया घरकी सुभद्रा प्याकुरेल र मानव सेवा आश्रमका नवराज केसीलाई २५–२५ हजार रुपैयाँसहित ‘विराट सामाजिक सम्मान’ प्रदान गरिएको छ।
सोही कोषमार्फत वराहक्षेत्र गुरुकुलका युगल दाहाल र उदयपुर गुरुकुलका पुष्पराज भट्टराईलाई सात–सात हजार रुपैयाँसहित प्रोत्साहन सम्मान दिइएको छ।
स्वर्गीय जानकीवल्लभ–चन्द्रप्रभा दाहाल स्मृति कोषबाट दमककी कुलबधु डोयनालाई ‘सामाजिक सम्मान’ र यमुना कोइराला दाहाललाई ‘वर्ष कुलबधु सम्मान’ प्रदान गरिएको छ।
स्वर्गीय पदमप्रसाद–अम्बिकादेवी दाहाल स्मृति कोषबाट भक्ति दाहाललाई ‘लेखन तथा साहित्य सम्मान’, सुमितकुमार खड्कालाई ११ हजार राशिसहित ‘राष्ट्रिय गायक सम्मान’ र ललितनारायण राजवंशीलाई ‘वर्ष खेलाडी सम्मान’ दिइएको हो।
यस्तै, स्वर्गीय चन्द्रकान्त–दिव्यश्वरा दाहाल स्मृति कोषमार्फत धनमाया दाहाललाई ६ हजार १५५ रुपैयाँ राशिसहित ‘वर्ष आमा सम्मान’ प्रदान गरिएको छ भने पोखरिया माविका उदय सिटौला र आदर्श माविकी शुभेच्छा दाहाललाई पाँच हजार ५५५ रुपैयाँसहित उत्कृष्ट छात्र–छात्रा सम्मान दिइएको छ।
कार्यक्रममा प्रतिष्ठानका महासचिव सूर्य दाहालले संस्थाको तर्फबाट बाबुराम दाहाललाई ‘अक्षय कोषदाता सम्मान’, कमलराज दाहाललाई ‘जग्गादाता सम्मान’ र धिरेन्द्र दाहाललाई ‘संरचना निर्माता सम्मान’ पनि प्रदान गरिएको जानकारी दिए।
View : 205
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved