विराटनगर : लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलको अध्यक्षमा प्रमोद कुमार साह चयन भएका छन्। नयाँ नेतृत्वसँगै क्लबले स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।
अध्यक्षको जिम्मेवारी सम्हालेपछि साहले स्वास्थ्य क्षेत्रका व्यवसायिक व्यक्तित्वलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै समुदायमा गुणस्तरीय सेवा प्रवाह गर्ने लक्ष्यसहित काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार आगामी कार्यकालमा युवा सशक्तीकरण, वातावरण संरक्षण, भोकमरी न्यूनीकरण, मधुमेह तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना, रक्तदान, स्वास्थ्य सेवा विस्तार र शिक्षामूलक कार्यक्रमलाई प्राथमिकतामा राखिनेछ।
स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष रूपमा आबद्ध व्यक्तिहरूको सहभागितामा स्थापना भएको क्लबमा चिकित्सक, सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मी, प्यारामेडिक, नर्सिङकर्मी, औषधि व्यवसायी तथा अन्य स्वास्थ्यकर्मी आबद्ध छन्। यसले समुदायमा स्वास्थ्यसम्बन्धी सेवा र जनचेतना विस्तारमा संस्थाको भूमिका थप प्रभावकारी हुने विश्वास गरिएको छ।
साहले यसअघि क्लबको कोषाध्यक्ष, सचिव र उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। विभिन्न तहमा काम गर्दै हासिल गरेको अनुभवले अध्यक्षका रूपमा संस्थालाई थप सक्रिय र परिणाममुखी ढंगले अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
क्लबका संस्थापक अध्यक्ष डा. बालकृष्ण साह हुन् भने निवर्तमान अध्यक्ष बृज कुमार दास रहेका छन्। वर्तमान कार्यसमितिमा उपाध्यक्ष डा. प्रबिन कुमार झा, सचिव दिपेन्द्र कार्की र कोषाध्यक्ष नन्दकिशोर साह रहेका छन्।
१२ जुलाई २०१९ मा स्थापना भएको लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले स्वास्थ्य, शिक्षा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर सेवा गर्दै आएको छ। आगामी दिनमा पनि पारदर्शी, उत्तरदायी र प्रभावकारी सामाजिक सेवामार्फत समुदायमा आफ्नो योगदानलाई थप सशक्त बनाउने क्लबले जनाएको छ।
View : 296
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved