Biratnagar, Morang, Nepal
स्थानीय तह

हत्या, लुटपाट र करणी घटनाको सफल अनुसन्धान गर्ने मदन माघ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’

-
अखवारका कुरा
५ फागुन २०८२, मङ्गलवार

Advertisement

विराटनगर । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन केसी माघ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल तथा साहसका साथ उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै उनलाई सम्मान गरेको हो ।
प्रहरी नायव उपरीक्षक केसीले ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरे बोहोरेका ७४ वर्षीय चन्द्र विक्रम राई र ८० वर्षीया चन्द्रमाया राईको हत्या तथा लुटपाट घटनाको अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गरेका थिए । २०८२ माघ १३ गते भएको उक्त घटनामा संलग्न दुई जनालाई काठमाडौंबाट लुटिएको सामानसहित माघ २३ गते पक्राउ गरिएको थियो ।
त्यसैगरी, २०६७ साल असार २४ गते ओखलढुंगाको भदौरे गाविस–२ मा ४३ वर्षीय छविलाल कार्कीको हत्या गरी फरार रहेका प्रतिवादीलाई १५ वर्षपछि २०८२ माघ १७ गते पक्राउ गरिएको थियो ।
यसैक्रममा, २०८२ मंसिर २८ गते खिजिदेम्बा गाउँपालिका–९ मा एक महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका २७ वर्षीय प्रतिवादीलाई २०८२ माघ ४ गते पक्राउ गरी कानुनी दायरामा ल्याइएको थियो ।
गम्भीर प्रकृतिका अपराधमा संलग्न फरार अभियुक्तलाई पक्राउ गरी सर्वसाधारणमा शान्ति–सुरक्षाको अनुभूति गराउने कार्यमा उल्लेखनीय भूमिका खेलेको भन्दै प्रहरी नायव उपरीक्षक के.सी.लाई माघ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

View : 23

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved