Biratnagar, Morang, Nepal
साहित्य

प्रकृति, आज किन रिसायौ?

आश्मा चालिसे खनाल
२२ भदौ २०८३, सोमवार

Advertisement

प्रकृति, आज किन रिसायौ?
बिना गल्ती सजाय किन पायौँ?
कार्बन उत्सर्जनमा हामी न्यून,
तर बनाइदियौ हाम्रो देशलाई शून्य।

नियति नै कस्तो हाम्रो देशको,
विकासमा लम्किँदै गर्दा विनाश निम्तियो।
सतीले सरापेको देश हाम्रो,
आज बाढीले सही तुल्यायो।

नयाँ दिनको सुरुवात हुँदै थियो,
सबै जना आफ्नो दिनचर्यामा भुल्दै थिए।
अचानक बाढी ओर्लेर आयो,
सपनाहरू सबै माटोमै बिलायो।

भाग्य पनि कस्तो लिएर आयौ,
मर्ने बेला आफन्तको साथ पाएनौ।
कसैको खुट्टा त कसैको हात,
आफ्नैले चिनेर लान पाएनन् घाट।

ती अबोध बालकको के दोष,
जसको परिवार नै नासियो?
ती वृद्ध बुवा–आमाको के अपराध,
बाढीले बगायो सबै, कोही रहेनन् भोलि दिनलाई काँध।

मान्छेको रोदन सुन्न सकिँदैन,
आफन्तको चित्कार भुल्न सकिँदैन।
मेहनतले बनाएको सानो घर,
आज खण्डहर भएको हेर्न सकिँदैन।

भविको लेखा नि कस्तो हो,
कहिले भूकम्पले थिच्ने,
त कहिले बाढीले बगाउने
के यो सबै सहनुपर्ने हामीले नै हो?

दोष दिऊँ त कसलाई
हामी मानव आफैँलाई,
कि प्रकृतिलाई?

View : 26

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved