Biratnagar, Morang, Nepal
सामाजिक सेवा

लागूऔषध दुर्व्यसनविरुद्ध युवालाई सचेत गराउन लायन्स क्लब अफ विराटनगर युनिकको कार्यक्रम

-
अखवारका कुरा
१४ साउन २०८३, बिहिवार

Advertisement

 

विराटनगर : लायन्स क्लब अफ विराटनगर युनिकले लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बिहीबार विराटनगर–३ पोखरियास्थित लिबर्टी नेपालमा ‘ड्रग एब्युज अवेयरनेस’ विषयक कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा नोबेल मेडिकल कलेजका प्रोफेसर डा. मुक्ति आचार्यले लागूऔषध दुर्व्यसनका कारण, यसले व्यक्ति, परिवार र समाजमा पार्ने असर तथा यसको रोकथामका उपायबारे प्रस्तुति दिएका थिए। उनले विशेषगरी युवावर्ग लक्षित सचेतना, पारिवारिक निगरानी र सामुदायिक सहकार्यलाई दुर्व्यसन नियन्त्रणका लागि प्रभावकारी उपायका रूपमा उल्लेख गरे।

क्लबका अध्यक्ष लायन समीर खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५–सी नेपालका फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर लायन रमेश खत्री प्रमुख अतिथि तथा डिस्ट्रिक्ट गभर्नर लायन उदयनारायण बराल विशिष्ट अतिथि थिए।

कार्यक्रममा डिस्ट्रिक्ट एरिया चिफ लायन चन्द्रप्रसाद अधिकारी, एरिया कोर्डिनेटर, जोन चेयरपर्सन, विभिन्न लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको क्लबले जनाएको छ।

समाजमा बढ्दो लागूऔषध दुर्व्यसनका चुनौतीलाई मध्यनजर गर्दै युवामा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष खतिवडाले बताए। सहभागीहरूले यस्ता कार्यक्रम समुदायस्तरमा निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

View : 21

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved