विराटनगर : नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरको आयोजनामा सामूहिक ब्रतबन्ध (कय्ता पूजा) कार्यक्रम सम्पन्न भएको छ । भाषा, संस्कृति र परम्पराको संरक्षणलाई संस्थागत प्राथमिकता दिँदै संघले विराटनगरस्थित आफ्नै भवनमा १५ जना बटुकको ब्रतबन्ध संस्कार सम्पन्न गराएको हो ।
संघका अध्यक्ष शरद श्रेष्ठका अनुसार विराटनगरका साथै सुनसरी, इलाम र भारतको कालेपुङबाट आएका बटुकहरू कार्यक्रममा सहभागी भएका थिए। परम्परागत विधि–विधानअनुसार सम्पन्न गरिएको कार्यक्रममा अभिभावक, संघका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष भविसकुमार श्रेष्ठ, पूर्वअध्यक्ष शिवनारायण प्रधान, बुद्धरत्न उदास, हरिबहादुर श्रेष्ठ, राजन श्रेष्ठलगायत कार्यसमिति पदाधिकारीहरूको सहभागिता थियो ।
संघले सामाजिक उत्तरदायित्वअन्तर्गत सुनसरीको चकलघट्टी निवासी अभिभावकविहीन एक बटुकको ब्रतबन्ध निःशुल्क रूपमा सम्पन्न गराएको जनाएको छ । ‘संस्कारको संरक्षणसँगै सामाजिक दायित्व निर्वाह हाम्रो प्राथमिकता हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘यस्ता कार्यक्रमले संस्कृतिको संरक्षणका साथै समानताको सन्देशसमेत दिन्छ ।’
झी पुचःले विगतदेखि नै भाषा, संस्कृति र परम्परागत संस्कारहरूको प्रवद्र्धनमा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ । सामूहिक रूपमा ब्रतबन्ध आयोजना गर्दा संस्कारलाई संस्थागत ढाँचामा संरक्षण गर्न र परिवारहरूलाई आर्थिक तथा व्यवस्थापकीय सहजता प्रदान गर्न सहयोग पुग्ने विश्वास संघले व्यक्त गरेको छ ।
View : 27
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved