परमार्थ सिङ्घिया आरती दोश्रो बर्षमा
विराटनगर, साउन १३
विराटनगर–१ स्थित परोपकार घाटको परमार्थ सिंधिया आरती स्थल सोमबार साँझ भक्तिमय वातावरणमा रंगिएको थियो। आरती सुरु भएको दोस्रो वर्ष प्रवेशको अवसर पारेर कैलाशपति महादेवको मूर्तिको शिलान्यास गरियो। वैदिक विधिअनुसार पूजाआर्चना गर्दै सम्पन्न कार्यक्रमले विराटनगरको धार्मिक चेतनामा नयाँ ऊर्जा थपेको देखिन्थ्यो।
शिलान्यास समारोहमा प्रथम महिला शंकराचार्य महामण्डलेश्वर हेमानन्द गिरी, कोशी प्रदेशका पर्यटन मन्त्री सदानन्द मण्डल, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव , विश्व हिन्दु फेडेरेसनका अध्यक्ष डाक्टर अजय सिंह, आरती संरक्षक शंकर खरेल, अध्यक्ष चन्द्र बहादुर बन लगायतको उपस्थिति थियो। सहभागीहरूले संयुक्त रूपमा मूर्तिको शिलान्यास गरेका थिए ।
करीब १० लाख रुपैयाँ लागतमा निर्माण गरिने शिव मूर्ति फागुन ३ गते, महाशिवरात्रिको अवसर पारेर अनावरण गरिने योजना रहेको आरती संरक्षक खरेलले जानकारी दिए। उनका अनुसार मूर्ति निर्माणका लागि भक्तजन र विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भइरहेको छ।
शंकराचार्य हेमानन्द गिरीले मूर्ति अनावरणपछि तीन दिनसम्म विशेष यज्ञ आयोजना गरिने र त्यसको अगुवाइ आफैंले गर्ने उद्घोष गरिन्। धार्मिक अभियानले समाजमा आध्यात्मिक ऊर्जा प्रवाह गर्ने बताउँदै उनले यस्ता आयोजनाले संस्कार र आस्था बलियो बनाउने धारणा व्यक्त गरिन्।साथै आफ्नो शंकराचार्य बन्ने यात्राको बारेमा बताउदै कठिन मेहेनत र तपस्या गरेर यो स्थान सम्म पुगेको जानकारी दिइन ।
कार्यक्रममा प्रदेशका पर्यटन मन्त्री सदानन्द मण्डलले धार्मिक पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले यस्ता पहललाई प्राथमिकतामा राखेको बताए। धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनले प्रदेशलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने उनको भनाइ थियो।
विराटनगर महानगर प्रमुख नागेश कोइरालाले आफ्नो हालैको इजरायल–इरान द्वन्द्वको अनुभव स्मरण गर्दै सो द्वन्द्वबीच केही दिन उता फसेको स्मरण गर्दै उनले नेपाल फर्किँदा आफूले दोश्रो जीवन पाएको अनुभूति गरेको बताए। बाँकी जीवन समाज, धर्म र सेवामा समर्पण गर्ने संकल्प व्यक्त गर्दै उनले परोपकार घाटलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न महानगरको पूर्ण सहयोग रहने बताए।
शिलान्याससँगै आयोजित साँझको विशेष आरती र लाखवत्ती प्रज्वलनले सम्पूर्ण वातावरणलाई आध्यात्मिक र भक्तिमय बनाएको थियो। भक्तजनहरू हातमा धूप, दीप र फूल लिएर आरतीमा सहभागी थिए, घाट परिसरमा शिव नामको जप गुञ्जिएको थियो।
कार्यक्रमको अवसरमा समाजमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको महासचिव राजन न्यौपानेले जानकारी दिए ।
प्रसादको ब्यबस्थापन मारवाडी युवा मन्चका अध्यक्ष मोहित लालवाणीको अगुवाइमा मन्चले गरेको थियो ।
परोपकार घाटमा हरेक शुक्रबार नियमित रूपमा आयोजना हुँदै आएको आरती कार्यक्रम पछिल्लो समय विराटनगरको धार्मिक पहिचान बन्न थालेको छ।
View : 56
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved