Biratnagar, Morang, Nepal
बिचार

घर, माया र जिम्मेवारी

-
अखवारका कुरा
१८ माघ २०८२, आइतवार

Advertisement

मलाई कहिलेकाहीँ एउटा असहज तर इमानदार अनुभूति घच्घच्याइरहन्छ । विदाइ भइसकेकी छोरी र नागरिकता त्यागेर विदेशिएका स्वदेशी नेपाली, यी दुवैको सम्बन्ध माइत र मातृभूमिसँग उस्तै–उस्तै त होइन ? यो तुलना कसैलाई दोष लगाउन होइन । न छोरीको माया कम देखाउन, न विदेशिएका नेपालीको देशप्रेममाथि प्रश्न उठाउन नै हाे । यो त जीवनले देखाउँदै लगेको एउटा शान्त यथार्थलाई स्वीकार गर्ने प्रयास मात्र हो ।

विदाइ भइसकेकी छोरीलाई माइतको माया लाग्दैन र ? हुन्छ । विदेशिएका नेपालीलाई नेपाल याद आउँदैन र ? आउँछ । माया साँचो हो । भावना बनावटी होइन । तर माया र जिम्मेवारी एउटै कुरा होइन रहेछ । छोरीले माइतका लागि सहयोग गर्न सक्छे, विदेशिएको नेपालीले देशका लागि योगदान दिन सक्छ । तर घर बनाउने, घर थाम्ने र घर जोगाउने काम अन्ततः यहीँ बस्नेले नै गर्छ ।

आजभोलि सामाजिक सञ्जालमा एउटा नयाँ प्रवृत्ति देखिन थालेको छ । केही युट्युबर र प्रभावक आफू विदेशमा बसेर आफ्नो श्रम, समय र दैनिकी त्यतै खर्च गर्छन् । तर यहाँ बसेका नेपालीलाई दिनदिनै उक्साइरहन्छन् । आन्दोलन, आक्रोश र नैतिकताको भाषण टाढाबाट सजिलै आउँछ । जोखिम, अपमान र परिणाम भने यहीँ बस्नेले भोग्नुपर्छ । यो दृश्य मलाई कहिलेकाहीँ त्यस्ता चेलीहरूको सम्झना दिलाउँछ, जो आफैँ सासु–ससुराको हेरचाह नगरी माइतका आमाबुबाको जिम्मेवारी दाजु–भाउजूलाई सिकाउन व्यस्त हुन्छन् ।

यो तुलना पनि आरोपका लागि होइन । यो प्रवृत्तिको संकेत मात्र हो । टाढाबाट दिएको उपदेश सधैँ सजिलो हुन्छ । उपस्थितिले मागिने जिम्मेवारी भने कठिन हुन्छ । घरको छाना चुहिँदा, आमा बिरामी हुँदा, समाजसँग जुध्नुपर्दा लाइभ भिडियो होइन, मान्छे चाहिन्छ । फोनबाट सहानुभूति होइन, हात चाहिन्छ ।

विदेशिनेको मन नेपालमै हुन्छ, तर शरीर र समय पराइ भूमिमा हुन्छ । छोरीको माया माइतसँग टुट्दैन, तर घरको दैनिकी यहीँ बस्नेले नै बोक्छ । यही यथार्थ स्वीकार्न नसक्दा हामी भावनात्मक भ्रममा बाँचिरहेका छौँ । माया र जिम्मेवारीलाई बराबर ठानिरहेका छौँ ।

राज्य र समाज दुवैले अब यो फरक बुझ्नुपर्छ । विदेशबाट आएको आवाज महत्त्वपूर्ण हुन सक्छ, तर देश चलाउने भार यहीँ बस्ने काँधमै पर्छ । छोरीको माया अमूल्य हुन्छ, तर घरको भविष्य उपस्थितिले नै बनाउँछ । यो स्वीकारोक्ति कटु होइन । यो परिपक्वता हो । माया सबैको साझा हुन सक्छ, तर घर सधैँ यहीँ बस्नेको काँधमा अडिएको हुन्छ ।

राेजगारका लागि विदेशिनु बाध्यता हाे । तर विलासिताकाे खाेजीमा नागरिकता त्याग्नु सायद बाध्यता हाेईन  । सानाे अप्ठ्यारोमा  पर्दैमा देश छाेड्न सक्नेबाट हामीले के सिक्ने ? के बुझ्ने ? अनि यसतालाई देशकाे साचाे दिने कि नदिने ? यिनिहरुकाे बहकावमा लाग्ने कि यहि संघर्ष गरेका, धैर्यताले निर्णय गरेकालाई विश्वास गर्ने ? याे जिम्मेवारी फेरि एक पटक काधमा आएकाे छ । सकारात्मक भएर नागरिकका जिम्मेवारी पूरा गर्नु परेकाे छ । याे जिम्मेवारी हाम्राे हाे, हामीले नै पूरा गर्नु पर्छ ।

View : 253

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved