विराटनगर - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा देशभरि मतदाताले देखाएको उत्साह र सक्रियताले नेपाली लोकतन्त्रप्रतिको आम जनताको अटूट विश्वास पुनः एकपटक पुष्टि गरेको बताएका छन् । निर्वाचनपछि मतदाताप्रति आभार प्रकट गर्दै राजनीतिक दल, सरकार, कर्मचारी, सुरक्षा निकाय तथा सञ्चारकर्मीहरूलाई उच्च सम्मान र बधाईसमेत दिएका छन् । उनले मतदातासहित निर्वाचनमा सहभागी सबैप्रति आभार व्यक्त गरेका छन् ।
विज्ञप्तिमार्फत मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवारसमेत रहेका कोइरालाले अब संविधानलाई सही बाटोमा अगाडि बढाउन र लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचनले बल पुगेको धारणा राखेका छन् ।
उनले मतदान प्रक्रिया सामान्यतया शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै सरकारले र निर्वाचन आयोगले देखाएको तत्परताप्रति धन्यवाद व्यक्त गरे । ‘निर्वाचन सफल बनाउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै, राजनीतिक दलहरू, सञ्चारकर्मी मित्रहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि धन्यवाद प्रकट गर्दछु,’ कोइरालाले विज्ञप्तिमा भनेका छन् ।
डा. कोइरालाले आगामी दिनमा देशलाई समृद्ध र स्थिर बनाउनका लागि सुशासन, लगानीमैत्री वातावरण सिर्जना र स्वदेशमै रोजगारीका अवसरको सिर्जना अपरिहार्य रहेको स्पष्ट पारेका छन् । उनले जोड दिँदै भनेका छन्– ‘सुशासन कायम गरी रोजगारीका अवसर सिर्जना गर्दै आयातमुखी अर्थतन्त्रलाई आमूल सुधार गर्नु अबको पहिलो प्राथमिकता हो । यसका लागि नीति, योजना र कार्यसम्पादन तीनै पक्षमा एक जुट हुनुपर्छ ।’
डा. कोइरालाले जनताको लोकतान्त्रिक विश्वास कायम रहँदा मात्र दीर्घकालीन विकास सम्भव हुने र आगामी सरकारलाई जनताका आकांक्षाअनुसार काम गर्न प्रतिबद्ध रहन आवश्यक रहेकोमा जोड दिएका छन् । उनका अनुसार आगामी दिनमा नीति, योजना र कार्यान्वयनमा एकरूपता ल्याउन नसकिएमा विकासका लक्ष्यहरू प्राप्त गर्न कठिनाइ हुनेछ ।
आगामी दिनमा पारदर्शिता, जवाफदेहिता र दीर्घकालीन विकासतर्फ केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका छन् ।
View : 43
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved