कोशी प्रदेश सरकारअन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयले विएससी नर्सिङ विषयको पाठ्यक्रम तयार गरेको छ। प्रदेश सरकारले धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न हस्तान्तरण प्रक्रिया सुरु गरेसँगै विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि नै कक्षा सञ्चालन गर्ने तयारी गरेको हो।
विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलका अनुसार दक्ष नर्सिङ कार्यक्रम विज्ञ र चिकित्सकहरूको समूहले महिनौँको अध्ययनपछि सेमेस्टर प्रणालीमा आधारित चार वर्षे पाठ्यक्रम तयार गरेको हो। उक्त कोर्ष आठ सेमेस्टरमा सञ्चालन हुनेछ। विद्यार्थीहरूले ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत प्रयोगात्मक कक्षा अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ।
पोखरेलका अनुसार नयाँ कोर्ष बजारको माग र अन्तर्राष्ट्रिय मान्यतालाई ध्यानमा राखी तयार गरिएको हो। "थ्योरी कम र प्राक्टिकल बढी हुने गरी तयार पारिएको यस पाठ्यक्रमबाट दक्ष महिला र पुरुष नर्स उत्पादन गर्न सकिनेछ," उनले भने।
कोशी प्रदेश स्वास्थ्य सचिव डा. राधिका थपलियाले अनुभवसहितका विज्ञहरूको परामर्शमा तयार भएको यस पाठ्यक्रम समयानुकूल भएको बताइन्। "यसमा बिरामीको हेरचाह मात्र होइन, अनुशासन र नेतृत्व क्षमतामा पनि जोड दिइएको छ," उनले भनिन्।
रजिष्ट्रार डा. दिलनाथ फुयलका अनुसार पाठ्यक्रममा नर्सिङ अध्ययन गर्न चाहने पुरुषका लागि १५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ। उच्च शिक्षा महाशाखा प्रमुख दामोदर फुयलले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय पाठ्यक्रमको अध्ययनपछि स्वदेश र विदेशमा बढ्दो मागअनुसार फरक ढंगले कोर्ष निर्माण गरिएको बताए।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ सेवा विज्ञ डा. रामशरण मेहताले पाठ्यक्रमले जेरियाट्रिक, होम नर्सिङ, मानसिक स्वास्थ्य लगायतका क्षेत्रमा देखिएको अभाव पूरा गर्ने विश्वास व्यक्त गरे। "यो उत्कृष्ट पाठ्यक्रम हो, तर यसलाई व्यवहारमा सफल बनाउने चुनौती विश्वविद्यालयकै हातमा छ," उनले भने।
नर्सिङ क्याम्पस विराटनगरकी प्रमुख मेनुका भण्डारीका अनुसार यो कोर्ष जागिर खोज्ने मात्र होइन, आत्मनिर्भर बन्न चाहनेका लागि पनि उपयोगी हुनेछ।
प्रदेश सरकारले धनकुटा अस्पताललाई मनमोहनको शिक्षण अस्पताल बनाउने निर्णय गरिसकेको छ। हस्तान्तरण प्रक्रिया एक-दुई दिनमै पूरा भएपछि विएससी नर्सिङ कार्यक्रम सुरु गरिने विश्वविद्यालयको तयारी छ।
सन् २०७६ मा स्थापना भएको मनमोहन प्राविधिक विश्वविद्यालयले हाल इन्जिनियरिङ, फार्मेसी, अस्पताल व्यवस्थापन, कानुन तथा अपराधशास्त्रका कार्यक्रम सञ्चालन गर्दै आएको छ। विश्वविद्यालयले आगामी १० वर्षभित्र विभिन्न विषयमा पीएचडीसहित स्नातक र स्नातकोत्तर तहका पाठ्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ।
View : 163
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved