काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा सोमबार सम्पन्न भएको थियो ।
बैठकमा महामन्त्री गुरुराज घिमिरेले विभिन्न प्रस्तावहरू पेश गरेका थिए । छलफलपछि बैठकले महत्वपूर्ण दुई निर्णय गरेको पार्टीले जनाएको छ ।
बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२’ लाई आवश्यक परिमार्जनसहित पारित गरेको छ ।
त्यसैगरी, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम तीन सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । गठन भएको समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ रहेका छन् भने सदस्यहरूमा केन्द्रीय सदस्य धना खतिवडा र सुवासकुमार पोखरेल रहेका छन्।
बैठकमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा. डिला संग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा र योगेन्द्र चौधरी तथा पार्टी प्रवक्ता देवराज चालिसेले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।
View : 34
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved