Biratnagar, Morang, Nepal
खेलकुद

इतिहास रच्यो नेपालले

करण केसी चम्कदा एकदिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक जित, स्कटल्याण्ड पराजित

यो जितसँगै नेपाल लिग–२ को अंक तालिकाको सातौँ स्थानमा पुगेको छ। नेपालले १३ खेलबाट ८ अंक जोडेको छ। स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीच जारी त्रिदेशीय शृंखलाको यो पहिलो चरण हो।
-
अखवारका कुरा
२० जेठ २०८२, मङ्गलवार

Advertisement

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास रच्दै स्कटल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ। सोमबार सम्पन्न खेलमा करण केसीको अविजित अर्धशतकले नेपाललाई २९७ रनको चुनौतीपूर्ण लक्ष्य भेट्टाउन मार्गदर्शन गर्‍यो।

यो जितसँगै नेपालले एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य पछ्याएर जित हासिल गरेको छ। यसअघि सन् २०२३ मा नामिबिया र २०२४ मा क्यानडाविरुद्ध २८६ रनको लक्ष्य भेट्टाउनु नै नेपालको कीर्तिमान थियो।

अन्तिम ओभरको नाटकीय मोड

अन्तिम ओभरमा सात रन आवश्यक थियो। पहिलो बलमै संदीप लामिछाने आउट हुँदा नेपाल दबाबमा आयो। ११औं नम्बरमा आएका रिजन ढकालले पहिलो बलमै वाइड निकालेर करण केसीलाई स्ट्राइक दिलाए। करणले त्यसपछि संयमित तर तीव्र ब्याटिङ गर्दै दुई बलमा चार रन जोडे। अन्तिम बलमा वाइड भएपछि नेपालले जित सुनिश्चित गर्‍यो।

हिम्मतिलो इनिङका नायक : करण केसी

नवौँ नम्बरमा ब्याटिङ गर्न आएका करणले ४१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ६५ रन बनाए। यो उनको एकदिवसीय करियरको पहिलो अर्धशतक पनि हो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ रन बनाए। गुल्सन झा (४२), भीम सार्की (४०), रोहित पौडेल (३७) र आसिफ सेख (२०) को योगदान पनि महत्त्वपूर्ण रह्यो।



बलिङ स्कटल्यान्डको प्रदर्शन

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको थियो।
चार्ली टिएरले ८० रन बनाए। फिन्ली म्याकार्थीले ५५, कप्तान रिची बेरिङ्टनले ४०, म्याथ्यु क्रसले ३९ रन जोडे।

नेपालका करण केसी, रिजन ढकाल र सोमपाल कामीले समान २–२ विकेट लिए। सन्दीप लामिछानेले १ विकेट झिके।
 

नयाँ प्रशिक्षकको सुखद सुरुवातनयाँ भरोसा

नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट लको नेतृत्वमा नेपालको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो र पहिलो विजय पनि।
यो जितसँगै नेपाल लिग–२ को अंक तालिकाको सातौँ स्थानमा पुगेको छ। नेपालले १३ खेलबाट ८ अंक जोडेको छ।
स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीच जारी त्रिदेशीय शृंखलाको यो पहिलो चरण हो।

View : 127

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved