चितवन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका—१२ याउरालीटारस्थित श्रीगणेश माध्यमिक विद्यालयको शुक्रबार अनुगमन गरेका छन् । चेपाङ समुदायका बालबालिका अध्ययनरत उक्त आवासीय विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार तथा शिक्षण–सिकाइको अवस्थाबारे उनले जानकारी लिएका हुन् ।
मन्त्री पोखरेलले शिक्षक, कर्मचारी तथा विद्यार्थीका अभिभावकसँग छलफल गरे । छलफलका क्रममा विद्यालयको शैक्षिक गुणस्तर, विद्यार्थीको विद्यालय पहुँच, चेपाङ समुदायका बालबालिकाले भोगिरहेका शैक्षिक चुनौती तथा विद्यालयका आवश्यकताबारे जानकारी लिइएको थियो ।
उक्त छलफलमा शिक्षक, कर्मचारी र अभिभावकहरूले विद्यालयको पूर्वाधार विकास, शैक्षिक स्रोत–साधनको व्यवस्थापन तथा स्थानीय स्तरमा देखिएका समस्याका बारेमा आफ्ना सुझाव राखेका थिए ।
अनुगमनपछि मन्त्री पोखरेलले दुर्गम तथा सीमान्तकृत समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु सरकारको प्राथमिकतामा रहेको बताए । यस्ता विद्यालयले भोगिरहेका समस्या समाधान गर्न मन्त्रालय आवश्यक पहल गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
View : 19
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved