क्षमतावान व्यक्तिहरु मन्त्री परिषदमा
२९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ सदस्य थपेकी छन् । अन्तरिम सरकारलाई थप प्रभावकारी बनाउन भन्दै कार्कीले अनुभव र लोकप्रियताको आधारमा दुई नाम समेटेकी हुन् ।
पूर्वअर्थ सचिव रामेश्वर खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । लामो समयसम्म वित्तीय प्रशासन र आर्थिक नीतिमा संलग्न रहँदै आएका खनाललाई अर्थमन्त्रीमा नियुक्त गरिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । अर्थतन्त्रलाई संकटबाट पार लगाउने र सुधारका कदम चाल्न उनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जासहित तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ । घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालय सम्हाल्ने भएका छन् ।नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक रहदा ‘लोडसेडिङ अन्त्य’ गरी व्यापक जनसमर्थन पाएका घिसिङलाई फेरि सरकारमा ल्याइएको हो ।
नयाँ मन्त्रीहरुको शपथ आजै हुने तयारी भइरहेको बुझिएको छ । प्रधानमन्त्री कार्कीले जनअपेक्षा र आन्दोलनका मागलाई सम्बोधन गर्ने गरी अनुभवी र लोकप्रिय व्यक्तिहरूलाई सरकारमा ल्याएको जनाइएको छ ।
View : 59
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved