काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल–कोरिया सम्बन्ध, भोटेकोशी बाढी प्रभावितको उद्धार, पुनःस्थापना तथा मानवीय सहायताबारे छलफल भयो । त्यस अवसरमा सूचना प्रविधि, डिजिटल अर्थतन्त्र र कृत्रिम बौद्धिकता (एआई) का क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि कुराकानी भएको छ ।
भेटवार्तामा सञ्चारमन्त्री डा तिमिल्सिनाले भोटेकोशी नदीमा आएको बाढीका कारण सिर्जित विपद्को यस कठिन समयमा नेपाललाई कोरियाबाट प्राप्त सहयोग र सहानुभूतिका लागि आभार व्यक्त गरे । उद्धार तथा खोजी कार्यमा सहयोग गर्न कोरियाले कोरियाली विपद् राहत टोली पठाएकोमा विशेष आभार व्यक्त गर्दै उनले बाढी प्रभावित नागरिकका लागि मानवीय सहयोग तथा पुनःनिर्माण र पुनःस्थानामा थप सहयोग गर्ने कोरियाली सरकारको प्रतिवद्धताका लागि पनि धन्यवाद ज्ञापन गरे ।
उनले नेपाल र कोरियाबीच मित्रता, पारस्परिक सम्मान, समझदारी र सहकार्यमा आधारित सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।
भेटवार्तामा राजदूत पार्कले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि कोरियाको सहयोग निरन्तर रहने बताए । उनले बाढीमा परेका कोरियाली नागरिकको अवस्थाबारे पनि चासो व्यक्त गरे ।
राजदूत पार्कका अनुसार कोरियाली सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका १० जना कोरियाली नागरिकको उद्धार गरेको छ भने माथिल्लो त्रिशूली–१ आयोजना क्षेत्रमा रहेका नौ जना कोरियाली नागरिक अझै सम्पर्कविहीन छन् ।
सो अवसरमा राजदूत पार्कले यही सेप्टेम्बर ३० देखि अक्टोबर १ सम्म दक्षिण कोरियामा आयोजना हुने १२औँ ग्लोबल आईसीटी लिडरसिप फोरममा नेपाल र अन्य देशका तर्फबाट हुने सहभागिता बारे पनि जानकारी दिए ।
दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा तथा नेसनल इन्फरमेसन सोसाइटी एजेन्सीको संयोजनमा हुने उक्त फोरममा नेपाल लगायत विभिन्न देशका प्रतिनिधिबीच सूचना प्रविधि तथा कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य एवम् आगामी रणनीतिबारे उच्चस्तरीय छलफल हुने पनि उनले बताए ।
View : 20
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved