Biratnagar, Morang, Nepal
राजनीति

कांग्रेस १५औँ महाधिवेशन : डा. प्रमिला गच्छदारको केन्द्रीय सदस्यमा उम्मेदवारी

-
अखवारका कुरा
२२ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डा. प्रमिला कुमारी गच्छदारले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्। कांग्रेस कोशी प्रदेशको सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेकी गच्छदारले केन्द्रीय नेतृत्वमा महिला, थारू समुदाय र प्राज्ञिक क्षेत्रको प्रतिनिधित्वलाई प्राथमिकतामा राख्ने बताएकी छन्।
‘महिला, थारू समुदाय र प्राज्ञिक क्षेत्रको प्रतिनिधित्व गर्दै सबैको प्रतिनिधित्व हुने गरी काम गर्ने मेरो उद्देश्य हो,’ गच्छदारले भनिन्, ‘पार्टीभित्र सबै समुदाय, वर्ग र क्षेत्रको आवाज नीति निर्माणको तहसम्म पुग्नुपर्छ। त्यसका लागि मेरो उम्मेदवारी हो।’
उनले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई केन्द्रीय सदस्यका रूपमा निर्वाचित गराउन आग्रहसमेत गरेकी छन्। ‘तपाईंहरूको साथ र समर्थनले पार्टीमा समावेशी प्रतिनिधित्वलाई थप बलियो बनाउन सकिन्छ। मेरो उम्मेदवारीलाई त्यही विश्वासका साथ लिन आग्रह गर्छु,’ उनले भनिन्।
मोरङको विराटनगर महानगरपालिका–४ की गच्छदार कोशी प्रदेश योजना आयोगको सदस्यसमेत भइसकेकी छन्। २०८२ सालमा थारू क्लस्टरबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेपछि उनको राजनीतिक भूमिका संघीय तहमा विस्तार भएको हो।
गच्छदारको कांग्रेस राजनीतिमा प्रवेश विद्यार्थी जीवनबाटै भएको हो। मधेश आन्दोलनपछि राजनीतिक सक्रियता बढाएकी उनी पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै कोशी प्रदेशको सहमहामन्त्रीसम्म पुगेकी हुन्। प्रदेश तहको अनुभवपछि उनी अहिले केन्द्रीय कार्यसमितिका लागि प्रतिस्पर्धामा छिन्।
राजनीतिसँगै गच्छदारको पृष्ठभूमि प्राज्ञिक क्षेत्रमा पनि छ। उनले विज्ञानमा स्नातक, वनस्पति शास्त्र र समाजशास्त्रमा स्नातकोत्तर तथा वनस्पति शास्त्रमा विद्यावारिधि गरेकी छन्। प्राध्यापन र अनुसन्धानमा संलग्न उनी वनस्पतिविद्का रूपमा पनि परिचित छन्।
शिक्षा, प्राकृतिक स्रोत तथा वन, वातावरण संरक्षण, जलवायु परिवर्तन, पर्यटन, महिला तथा सीमान्तकृत समुदायका सवाल उनका प्रमुख चासोका क्षेत्र हुन्।
१५औँ महाधिवेशनमा गच्छदारको उम्मेदवारीसँगै उनले आफ्नो राजनीतिक, प्राज्ञिक र सामाजिक पृष्ठभूमिलाई केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वको आधार बनाएकी छन्। उनको चुनावी अपिलमा पार्टीभित्र समावेशी सहभागिता, महिला नेतृत्व र थारू समुदायको प्रतिनिधित्वसँगै शिक्षा, वातावरण र नीतिगत सुधारका विषयलाई प्राथमिकतामा राखिएको छ।

View : 31

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved