अरनिकोमा विधार्थीको आकर्षण
विराटनगर - विज्ञान शिक्षामा स्थापित पहिचान बनाएको विराटनगरस्थित अरनिको कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। शनिबार र आइतबार आयोजित कार्यक्रममा यस शैक्षिक सत्रमा भर्ना भएका १ हजार २५३ विद्यार्थी सहभागी भएका थिए।
विराटनगरको कञ्चनजंघा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा शनिबार जीवविज्ञान (बायो) समूहका तथा आइतबार कम्प्युटर विज्ञान समूहका विद्यार्थी सहभागी भएका कलेजले जनाएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, अध्ययन पद्धति, अनुशासन तथा लक्ष्य निर्धारणका विषयमा जानकारी गराइएको थियो।
विद्यार्थीहरूमा उत्प्रेरणा जगाउने उद्देश्यले आयोजित सत्रमा मोटिभेसनल प्रशिक्षक डा. तारा गिरीले सहजीकरण गरेका थिए। उनले बदलिँदो परिवेशमा अवसरहरूको पहिचान गर्दै अध्ययनलाई प्रभावकारी र रुचिपूर्ण बनाउनुपर्नेमा जोड दिएका थिए।
अभिमुखीकरणकै अवसरमा कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार वितरण गरेको छ। एसईईमा ३.९१ जीपीए प्राप्त गरेका जेभी प्रवीणलाई ‘राजबहादुर तथा कमला कुँवर छात्रवृत्ति’ प्रदान गरिएको छ। यस्तै, कलेजको प्रवेश परीक्षामा प्रथम हुने सुयोग पोखरेल र प्रिन्स मण्डल, द्वितीय हुने कुलानन्द कुमार यादव तथा तृतीय हुने रोहित कुमार साहलाई पूर्ण छात्रवृत्तिसहित सम्मान गरिएको कलेजले जनाएको छ।
कार्यक्रममा कलेजका प्रिन्सिपल राजेश कार्कीले विद्यार्थीहरूलाई अनुशासित, भयरहित र सिर्जनशील वातावरणमा अध्ययन गर्न आग्रह गरे। उनले लगनशीलता र निरन्तर मेहनत सफलताको आधार भएको उल्लेख गर्दै विद्यार्थीको क्षमता विकासका लागि कलेज प्रतिबद्ध रहेको बताए।
कलेजका निर्देशक भरतराज दाहालले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको शैक्षिक विरासतलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए। संयोजक विकास खनालले कलेजका नियम, अनुशासन तथा विद्यार्थीको भूमिकाबारे जानकारी गराएका थिए।
कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले गायन, नृत्यलगायत सांगीतिक प्रस्तुति दिएर नयाँ विद्यार्थीहरूको स्वागत गरेका थिए।
View : 69
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved