Biratnagar, Morang, Nepal
सामाजिक सेवा

मुडुला कार्की समाजद्वारा नववर्षको शुभकामना आदानप्रदान तथा क्यालेन्डर लोकार्पण कार्यक्रम सम्पन्न

-
अखवारका कुरा
२८ चैत २०८२, शनिवार

Advertisement

विराटनगर - नयाँ वर्ष २०८३ को अवसरमा विराटनगर-४ स्थित मुडुला कार्की कुलायण समाजले शुभकामना आदानप्रदानसहित २५ हजार प्रति भित्ते क्यालेन्डर लोकार्पण गरेको छ । शनिबार समाजको केन्द्रीय कार्यालय परिसरमा आयोजित कार्यक्रममा समुदायका सदस्यहरू उत्साहपूर्वक सहभागी भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ४ का अध्यक्ष जितन थापा र समाजका अध्यक्ष रेवतबहादुर कार्की लगायतले  संयुक्त रूपमा क्यालेन्डर सार्वजनिक गरेका हुन् । क्यालेन्डर लोकार्पणसँगै उपस्थितबीच आपसी शुभकामना आदानप्रदान, भेटघाट र सामाजिक एकता तथा धर्म–संस्कृतिको संरक्षणबारे छलफल समेत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष जितन थापाले समाजले आफ्नो धर्म, संस्कृति र परम्परालाई जोगाउँदै सामाजिक एकता मजबुत बनाउन खेलेको भूमिकाको प्रशंसा गरे । उनले नयाँ पुस्तालाई संस्कारसँग जोड्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताउँदै समाजको निरन्तर प्रगतिका लागि स्थानीय सरकारको सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे ।

समाजका अध्यक्ष रेवतबहादुर कार्कीले समाजलाई एकताबद्ध, सक्रिय र सामाजिक रूपमा जिम्मेवार बनाउने उद्देश्यसहित वर्षभर विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम सञ्चालन हुँदै आएको बताए । उनका अनुसार वैशाख ११ गते गोठधुप पूजा, भदौ १९ गते स्थापना दिवस, सामूहिक जमरा राख्ने परम्परा तथा बृद्धाश्रममा आश्रितहरूलाई सहयोग गर्ने कार्यक्रम निरन्तर रूपमा हुँदै आएका छन् ।

उपाध्यक्ष कृष्ण कार्कीले मुडुला कार्कीहरू आफूलाई मोदगल्य ऋषिका वंशज मान्ने परम्परा बोकेको समुदाय भएको उल्लेख गर्दै विराटनगर क्षेत्रमा करिब ४ सय ५० घरपरिवारको बसोबास रहेको जानकारी दिए । उनले समुदायको पहिचान संरक्षण, संगठनात्मक सुदृढीकरण र नयाँ पुस्तालाई संस्कारसँग जोड्ने अभियानलाई प्राथमिकतामा राखिएको बताए ।
कार्यक्रममा सल्लाहकार केदार कार्की, प्रकाश कार्की तथा उपाध्यक्ष ध्रुव कार्कीसहित समाजका पदाधिकारी, अग्रज तथा युवापुस्ताको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले नयाँ वर्षले समाजमा अझ बढी एकता, सहकार्य र धर्म संस्कृतिप्रति आस्था र सम्मान बढाउने विश्वास व्यक्त गरेका थिए ।

नयाँ वर्षलाई केवल समय परिवर्तनको रूपमा मात्र नभई सामाजिक सम्बन्ध, संस्कार र साझा पहिचानलाई अझ मजबुत बनाउने अवसरका रूपमा उपयोग गर्दै आएको मुडुला कार्की समाजको यस्तो कार्यले समुदायभित्र सकारात्मक ऊर्जा र प्रेरणा थपेको छ ।

View : 81

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved