काठमाडौं — पूर्वाञ्चल र पोखरा विश्वविद्यालयबाट Master in Health Promotion education (MPHHPE) उपाधि हासिल गरेका विद्यार्थीहरूले आफ्नो शैक्षिक तथा पेशागत पहिचानमा अन्योल सिर्जना गर्ने गतिविधि भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छानबिनको माग गरेका छन्।
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ, नेपाल (HEPEAN) ले ‘Health Education (H.Edu)’ नामबाट छुट्टै समूह वा श्रेणी कायम गर्न खोजेको भन्दै विद्यार्थीहरूले आपत्ति जनाएका हुन्।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन तथा नियमावलीमा यस्तो छुट्टै श्रेणीको व्यवस्था नरहेको उनीहरूको दाबी छ।
मन्त्रालयमा बुझाइएको ज्ञापनपत्रमा विद्यार्थीहरूले HEPEAN बाट जारी विज्ञप्ति तथा प्रचार सामग्रीले आफूहरूको उपाधि र पेशागत भविष्यबारे अन्योल सिर्जना गरेको उल्लेख गरेका छन्।
उनीहरूले त्यस्ता विज्ञप्ति तत्काल खारेज गर्न र ‘H.Edu’ नामको समूह वा श्रेणी कसरी र कुन कानुनी आधारमा सिर्जना गरिएको हो भन्नेबारे छानबिन गर्न माग गरेका छन्।
विद्यार्थीहरूका अनुसार MHPE, MPH(HPE), MPH(HSM) ,MPHN , Msc.PH लगायतका उपाधि जनस्वास्थ्य क्षेत्रमा विभिन्न विशेषज्ञतासँग सम्बन्धित छन्। विश्वविद्यालयबाट निर्धारित प्रक्रिया पूरा गरी उपाधि हासिल गरेका विद्यार्थीको पेशागत पहिचान कुनै संघ–संस्थाको विज्ञप्ति वा प्रचारका आधारमा निर्धारण हुन नहुने उनीहरूको भनाइ छ।
ज्ञापनपत्रमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्को ऐन तथा नियमावलीले जनस्वास्थ्यसम्बन्धी उपाधिको दर्ता र वर्गीकरणका लागि कानुनी व्यवस्था गरेको उल्लेख गर्दै त्यसबाहिर गएर नयाँ पेशागत समूह वा श्रेणी सिर्जना गर्न खोजिएको भए त्यसको कानुनी आधार स्पष्ट गर्न माग गरिएको छ।
विद्यार्थीहरूले ‘H.Edu’ नामको समूह कसको प्रस्तावमा, कुन निर्णयबाट र कुन कानुनी व्यवस्थाअन्तर्गत सिर्जना गरिएको हो भन्ने विषयमा छानबिन गरी दोषी देखिए सम्बन्धित पदाधिकारीमाथि कारबाही गर्न पनि माग गरेका छन्।
उनीहरूले विश्वविद्यालयको शैक्षिक मान्यता र पेशागत नियमनबीच स्पष्टता कायम गर्नुपर्ने बताएका छन्। MHPE उपाधिको दर्ता, लाइसेन्स तथा पेशागत वर्गीकरणबारे सम्बन्धित निकायबाट स्पष्ट निर्णय नआउँदा विद्यार्थीको भविष्य अन्योलमा पर्ने उनीहरूको भनाइ छ।
ज्ञापनपत्रमा भविष्यमा कुनै संस्था वा व्यक्तिले ऐन–नियमावलीविपरीत सरकारी निकायको निर्णयमा दबाब वा धम्की दिन नपाउने गरी आवश्यक निर्देशन जारी गर्नसमेत मन्त्रालयसँग आग्रह गरिएको छ।
विद्यार्थीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल चिकित्सा शिक्षा आयोगले सम्बन्धित विश्वविद्यालय तथा विद्यार्थी प्रतिनिधिसँग छलफल गरी MHPE उपाधिको कानुनी तथा पेशागत हैसियत स्पष्ट पार्न माग गरेका छन्।
वर्षौंको अध्ययन र लगानीपछि प्राप्त उपाधिको पहिचान र भविष्यमा रोजगारी तथा पेशागत अवसरमा असर पर्न सक्ने भन्दै विद्यार्थीहरूले विवादलाई तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।
पक्षपात र अनावश्यक झमेलाको विरुद्ध तथा आफ्नो पेशागत समुहको रक्षाका लागि नेपाल जनस्वास्थ्य प्रवर्द्धन समाज स्थापना गरि अगाडि बढ्ने निर्णय भएको उपाधी प्राप्त विधार्थीले जानकारी दिए ।
View : 23
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved