विराटनगर जेसीजको सामाजिक सेवा
विराटनगर, जेष्ठ १५। विराटनगर जेसीजको आयोजनामा तथा विराट मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटलको प्राविधिक सहकार्यमा कटहरी गाउँपालिका–१ स्थित सभाहलमा एकदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बुधबारका दिन मिति २०८२ जेठ १४ गते आयोजना गरिएको हो।
‘नसर्ने रोग र हाम्रो सचेतता’ विषयमा केन्द्रित उक्त कार्यक्रममा प्रमुख सहजकर्ताका रूपमा विराट मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटलका कन्सल्टेन्ट इन्टरनल मेडिसिन डा. ज्योतिष चन्द्र झा सहभागी हुनु भएको थियो। डा. झाले हाल देशभर तीव्र रूपमा फैलिँदै गइरहेका उच्च रक्तचाप, मधुमेह, मुटुरोगलगायतका नसर्ने रोगहरूको कारण, लक्षण, रोकथाम र व्यवस्थापनबारे सहभागीलाई विस्तृत जानकारी गराउनु भयो।
कार्यक्रमका प्रमुख अतिथि कटहरी गाउँपालिकाका अध्यक्ष श्री देवराज चौधरी रहनुभएको थियो। उहाँले गाउँपालिका स्तरमै यस्ता जनचेतनामूलक कार्यक्रमले दीर्घकालीन स्वास्थ्य सुधारमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी विशिष्ट अतिथिका रूपमा कटहरी गाउँपालिकाका पूर्व अध्यक्ष श्री हरिनारायण राजवंशीको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम विराटनगर जेसीजका अध्यक्ष जेसी प्रितेश राज दाहालको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रमको संयोजन जेसी गुणानन्द महतोले गर्नुभएको थियो।
सामाजिक उत्तरदायित्व अन्तरगत जेसीजले आयोजना गर्ने यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति चेतना जगाउने मात्र नभई व्यवहार परिवर्तनतर्फ पनि योगदान दिने आयोजकको विश्वास छ।
View : 134
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved