Biratnagar, Morang, Nepal
स्थानीय तह

महाशिवरात्रि

महाशिवरात्रिमा समृद्ध विराटनगरको संकल्प : मेयर कोइरालाद्वारा एकता र सहिष्णुताको आह्वान

-
अखवारका कुरा
३ फागुन २०८२, आइतवार

Advertisement


विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महाशिवरात्रिको अवसरमा महानगरवासीमा शुभकामना व्यक्त गर्दै समृद्ध र एकतामूलक सहर निर्माणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।

आइतबार जारी शुभकामना सन्देशमा उनले महाशिवरात्रि आत्मशुद्धि, धैर्य र सकारात्मक ऊर्जाको पर्व भएको उल्लेख गर्दै सत्य, तपस्या, संयम र समर्पणका प्रतीक भगवान् शिवको आराधनाले समाजमा सहिष्णुता र सद्भाव प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार महाशिवरात्रि धार्मिक आस्थाको पर्व मात्र नभई नेपाली समाजको संस्कृति र सभ्यताको महत्वपूर्ण आधारसमेत हो ।

कोशी प्रदेशको राजधानीका रूपमा विकसित हुँदै गएको विराटनगर धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न सहर भएको उल्लेख गर्दै मेयर कोइरालाले रानी पोखरी क्षेत्रलगायत विभिन्न टोल–समुदायमा रहेका शिवालयहरूले सहरको आध्यात्मिक पहिचान सुदृढ बनाउँदै आएको बताए । शिवरात्रिका अवसरमा मन्दिरहरूमा देखिने भक्तजनको सहभागिता, दीपमालाको झिलिमिली र भजन–कीर्तनले सहरमा सकारात्मक ऊर्जा प्रवाह हुने उनको भनाइ छ ।

विविध जातजाति, भाषा र संस्कृतिको संगमस्थलका रूपमा रहेको विराटनगरमा मनाइने महाशिवरात्रिले धार्मिक सहिष्णुता र सामाजिक एकतालाई थप मजबुत बनाएको धारणा उनले राखे। पर्वले आन्तरिक अन्धकार हटाई सत्य र न्यायको मार्गमा अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्दै उनले समृद्ध, व्यवस्थित र समावेशी विराटनगर निर्माणमा महानगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारे।

मेयर कोइरालाले महाशिवरात्रिको अवसरले सबैको जीवनमा शान्ति, सुख, समृद्धि र सुस्वास्थ्य ल्याओस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

 

View : 25

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved