Biratnagar, Morang, Nepal
स्थानीय तह

सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा छनोट तथा मूल्याङ्कन समिति

-
अखवारका कुरा
२७ जेठ २०८३, बुधवार

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गर्न लागेको ‘टोलटोलमा फिल्म महोत्सव’ कार्यक्रमले चलचित्र क्षेत्रका सबै विधालाई समुदायसँग जोड्ने सम्पदा तथा पर्यटन समितिका संयोजक एवं फिल्म छनोट तथा कार्यक्रम मूल्याङ्कन समितिका संयोजक आशामान संगतले बताएका छन् । उनले फिल्मलाई मनोरञ्जनका रूपमा मात्र लिनु नहुने बताए । 

यो मनोरञ्जनको माध्यम त हो नै । यस बाहेक शिक्षा, सूचना, सन्देश तथा जानकारीको संवाहक र रचनात्मक उद्योगको विकास गर्ने क्षेत्रका रूपमा परिचित गराउनु पर्ने वेला आएको उनको भनाइ छ । 

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले कार्यान्वयनमा ल्याउन लागेको ‘टोलटोलमा फिल्म फेस्टिभल’ कार्यक्रमको अपेक्षित नतिजाका विषयमा कुरा गर्दै उनले भने, ‘फिल्म क्षेत्रलाई सम्मानित पेसाका रूपमा समुदायमा परिचित गराएर यसको विकास र विस्तारमा योगदान दिने लक्ष्य राखेका छौँ ।’

समुदाय स्तरमा फिल्म महोत्सवका कार्यक्रम सञ्चालन व्यवस्थापन गर्न महानगरपालिकाले सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा आवद्ध गैर नाफामूलक सङ्घसंस्थाहरू, युथ क्लव, सामुदायिक संस्था, टोल विकास समिति, सांस्कृतिक समूह, पुचःलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

महानगरले उपलब्ध गराएको सर्त, सीमा तथा बन्देज, मिति र स्थानमा, महानगरले नै उपलब्ध गराएका फिल्म र प्राविधिक साधन तथा उपकरणको प्रयोग गरेर निःशुल्क फिल्म प्रदर्शन गर्नुपर्नेछ । यसरी फिल्म देखाइने स्थानहरू परम्परागत टोल, वहाः, वही, चोक, ननी, एम्पीथियटर, पार्क जस्ता खुला स्थान हुनेछन् । यस प्रयोजनका लागि महानगरपालिकाले खुला प्रस्ताव आव्हान गरेको छ । जेठ २७ गते राति १२ बजे अगाडि इच्छुकले महानगरपालिकाको वेभ साइटमा दिइएको ठेगानाबाट प्रस्ताव दिन सक्नेछन् । 

यस प्रक्रियाबाट छनोट भएका संघसंस्थालाई सहभागितामूलक ’टोल टोलमा फिल्म महोत्सव’ आयोजना गराउन कार्यक्रम सञ्चालन सहयोग, क्युरेटेड फिल्म तथा फिल्म प्रदर्शनका लागि एलइडी, साउन्डसहितको प्राविधिक सहयोग महानगरबाट उपलब्ध गराइनेछ । 

यो समुदाय स्तरको कार्यक्रम भएकोले व्यवस्थापनमा सहकार्य गर्न इच्छुक संघसंस्थालाई प्रस्ताव पेश गर्न विभागका प्रमुख कुमारी राईले आग्रह गर्नुभएको छ । 

समुदाय स्तरमा देखाइने चलचित्रको गुणस्तर, विषय वस्तु, प्रस्तुतीकरण जस्ता विषय छनोट गर्न, कार्यक्रमलाई उद्देश्यमूलक बनाउने उद्देश्यले निगरानी, नियमन तथा नियन्त्रण गर्न संगतको संयोजकत्वमा समिति गठन भएको छ । 

 

View : 23

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved