विराटनगर । जामुनगाछी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पाँचौँ साधारण सभा विभिन्न अतिथि, उपभोक्ता तथा सदस्यहरूको सहभागितामा सम्पन्न भएको छ। साधारण सभाको अवसरमा उत्कृष्ट उपभोक्ता, क्षेत्रीय संयोजक तथा कर्मचारीलाई सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव देवचन्द्र घिमिरेले गरेका थिए। उनले सीमित स्रोत र चुनौतीका बाबजुद पनि संस्थाले निरन्तर खानेपानी सेवा प्रवाह गर्दै आएको उल्लेख गर्दै उपभोक्ताको विश्वास र सहकार्यले संस्था थप सुदृढ बन्दै गएको बताए। आगामी दिनमा सेवा गुणस्तर सुधार, पारदर्शिता र संस्थागत विकासलाई प्राथमिकतामा राखेर काम गरिने उनले बताए।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष संजय मण्डलले व्यक्त गरेका थिए। उनले खानेपानी तथा सरसफाइ सेवा नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै उपभोक्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।
कार्यक्रमका सभापतित्व समितिका अध्यक्ष बेनु पौडेलले गरेका थिए। उनले जामुनगाछी खानेपानी उपभोक्ता समितिलाई दीगो, पारदर्शी र विश्वसनीय संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।
विशिष्ट अतिथि जिल्ला समन्वय समिति मोरङका सदस्य तुलसी घिमिरेले खानेपानी तथा सरसफाइ नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै उपभोक्ता समितिहरूले स्थानीय तहसँग समन्वय गरेर सेवा विस्तार गर्नुपर्ने धारणा राखे।
प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खानेपानी सेवा महानगरको प्राथमिकतामा रहेको स्पष्ट पार्दै उपभोक्ता समितिहरू स्थानीय सरकारका महत्वपूर्ण साझेदार भएको बताए। उनले विराटनगरलाई व्यवस्थित र स्वच्छ सहर बनाउने अभियानमा खानेपानी तथा सरसफाइ क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। मेयर कोइरालाले खानेपानी आयोजनामा देखिएका संरचनागत समस्या समाधान गर्न महानगरपालिका आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताउँदै उपभोक्ता समितिहरूले पारदर्शिता, समयमै शुल्क संकलन र सेवा सुधारमा ध्यान दिनुपर्ने धारणा राखे।
साधारण सभामा उपभोक्तातर्फ लक्ष्मी दाहाल, विनोद राज अधिकारी, रमा भट्टराई, नवराज निरौला, विष्णुमाया तामाङ र गीता तिम्सिनालाई सम्मान गरिएको थियो। त्यस्तै, क्षेत्रीय संयोजकतर्फ मोहन प्रधान र कर्मचारीतर्फ प्राविधिक हरिनारायण खाँ थारुलाई सम्मान प्रदान गरिएको समितिले जनाएको छ।
साधारण सभामा विभिन्न सदस्यहरूले संस्थाको सेवा, व्यवस्थापन तथा आगामी सुधारका विषयमा आफ्ना धारणा र सुझाव राखेका थिए। पाँचौँ साधारण सभाले आगामी कार्ययोजना तथा विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।
View : 87
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved