विराटनगरस्थित नेपाल बिजनेस कलेजले आगामी अप्रिल १० मा लाइभ कन्सर्ट आयोजना गर्ने भएको छ। विराटनगरको जैन भवनमा हुने कार्यक्रममा लोकप्रिय ब्यान्ड MT ८८४८ को प्रस्तुति रहने कलेजले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
कलेजका सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले ‘इभेन्ट म्यानेजमेन्ट’ विषयअन्तर्गत प्रयोगात्मक अभ्यासका रूपमा कन्सर्ट आयोजना गर्न लागेका हुन्। कार्यक्रमको यो तेस्रो संस्करण हो।
निर्देशक पिंकी शर्माले विद्यार्थीलाई कक्षाकोठामा सीमित सैद्धान्तिक ज्ञानभन्दा बाहिर निकालेर व्यवहारिक अनुभव दिलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। उनका अनुसार कन्सर्ट सम्पन्न गर्न करिब ११ लाख ७७ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
प्रबन्ध निर्देशक दीपक कोइरालाका अनुसार कार्यक्रमको अवधारणा निर्माणदेखि प्रायोजक व्यवस्थापन, कलाकार छनोट र सञ्चालनसम्मका सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरूले नै वहन गरेका छन्। “विद्यार्थीहरूलाई वास्तविक कार्यक्षेत्रको अनुभव दिलाउने यो प्रयास हो,” उनले भने।
कन्सर्टबाट संकलित मुनाफा सामाजिक क्षेत्रमा खर्च गरिने कलेजले जनाएको छ। यसले विद्यार्थीहरूमा अध्ययनसँगै सामाजिक उत्तरदायित्वप्रतिको भावना विकास हुने विश्वास गरिएको छ।
पत्रकार सम्मेलनमा MT ८८४८ का कलाकारहरूको उपस्थिति रहेको थियो।
यसअघि पनि कलेजका विद्यार्थीहरूले यस्तै प्रकृतिका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्दै आएका छन्, जसले प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिने कलेजको अभ्यासलाई निरन्तरता दिएको छ।
View : 120
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved