देशकै ठूलो क्रिकेट एकेडेमी बन्दै
विराटनगर — विराटनगरमा निजी लगानीकर्ताले देशकै सबैभन्दा ठूलो क्रिकेट एकेडेमी निर्माणको काम थालेका छन्। विराटनगर–३ मा निर्माणाधीन स्पोर्टस जोन प्रालिमार्फत क्रिकेटसहित विभिन्न खेल प्रशिक्षण संरचना बनाउन थालिएको हो।
स्थानीय हरी बजगाईँ, नवराज काफ्ले र राज ढकालले संयुक्त लगानीमा सुरु गरेको स्पोर्टस जोन करिब ३० कठ्ठा जग्गामा बन्नेछ। अध्यक्ष बजगाईँका अनुसार उक्त जग्गा दश वर्षका लागि लिजमा लिइएको हो। करिब तीन करोड रुपैयाँ लागतमा बन्ने सो संरचनामा ५१ हजार वर्गफुटको क्रिकेट एकेडेमीसहित फुटसल, गो–कार्ट र स्केटिङ खेल प्रशिक्षणका सुविधा रहनेछन्।
हालसम्म घेराबेरा र माटो फिलिङको काम सकिएको छ। आगामी असोजसम्ममा सम्पूर्ण निर्माण सम्पन्न भई उद्घाटन हुने अध्यक्ष बजगाईँले बताए। उनका अनुसार नेपालमा अहिलेसम्मको सबैभन्दा ठूलो क्रिकेट एकेडेमी ३० हजार वर्गफुटको मात्र रहेकाले विराटनगरमा बन्ने संरचना देशकै पहिलो ठूलो एकेडेमी हुने दाबी गरिएको छ।
“यो एकेडेमीले देशभरका खेलाडीलाई आकर्षित गर्नेछ,” अध्यक्ष बजगाईँले भने, “यसलाई सार्थक बनाएर विराटनगरलाई खेलाडी उत्पादन गर्ने केन्द्र बनाउने हाम्रो लक्ष्य हो।” उनले प्रारम्भमा तीनजना लगानीकर्ता संलग्न भए पनि थप लगानीकर्ताले समेत सहभागिता जनाइसकेको जानकारी दिए।
View : 584
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved