विराटनगर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ–६ बाट महिला खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा डा. डिला संग्रौला पन्तले उम्मेदवारी दिने भएकी छन्।
कांग्रेसको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेकी संग्रौला लामो समयदेखि पार्टीको संगठन र केन्द्रीय राजनीतिमा सक्रिय छिन्। नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी उनी स्थानीय संगठनबाट जिल्ला राजनीतिमा पुगेकी संग्रौला पछि नेपाल महिला संघको केन्द्रीय नेतृत्वमा पुगिन्। उनी महिला संघकी केन्द्रीय अध्यक्षसमेत भएकी थिइन्। महिला संघको नेतृत्वपछि कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय हुँदै उनी केन्द्रीय सदस्य बनिन्।
१३औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी संग्रौला २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेकी थिइन्। संसद्मा रहँदा उनले राज्य व्यवस्था तथा सुशासनसम्बन्धी विषयमा काम गरेकी थिइन्।
पार्टीको पछिल्लो संरचनामा उनी सहमहामन्त्रीको जिम्मेवारीमा छिन्। संगठनमा लामो समयदेखि सक्रिय रहेकी संग्रौलाले महिला सहभागिता, संगठन विस्तार र पार्टीभित्रको आन्तरिक लोकतन्त्रका विषय उठाउँदै आएकी छन्।
यसपटक भने उनी मोरङ ६ बाट महिला खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धामा उत्रिन लागेकी हुन्। मोरङमा महाधिवेशनको प्रक्रिया अघि बढेसँगै वडा, क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधि चयनका गतिविधिमा डिलाको सक्रिय भुमिकाले क्षेत्रका अधिकाश स्थानमा सर्वसहमत नेतृत्व छानिएर आएका छन ।
संग्रौलाको उम्मेदवारीसँगै महिला खुलातर्फ अन्य आकांक्षीहरू पनि सक्रिय हुने क्रम बढेको छ। उम्मेदवारी दर्ता र प्रतिनिधिहरूबीचको समीकरणपछि मात्रै प्रतिस्पर्धाको स्वरूप स्पष्ट हुने देखिन्छ।
View : 75
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved