Biratnagar, Morang, Nepal
खेलकुद

खेलकुदमा योगदान पुर्याउनेलाई सम्मान

कोशी प्रदेश खेलकुद विकास वोर्डद्वारा खेल क्षेत्रमा योगदान पुर्‍याउने १०१ जनालाई सम्मान

-
अखवारका कुरा
२७ असार २०८२, शनिवार

Advertisement

विराटनगर — कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल क्षेत्रमा विशेष योगदान पुर्‍याउने खेलाडी, प्रशिक्षक, उद्योगी, पत्रकार र टिम व्यवस्थापकलाई सम्मान गरेको छ।

शनिबार विराटनगरमा आयोजित कार्यक्रममा खेलकुदसँग आवद्ध १०१ जनालाई नगदसहित सम्मान गरिएको हो। उक्त अवसरमा सञ्चार माध्यममार्फत खेल र खेलाडीको विकासमा योगदान गरेका पत्रकार अभयकुमार राई, चिरन्जीवी तिम्सिना (सुमन सुस्केरा), अनिल श्रेष्ठ, गुरु ढकाल, रमेश समदर्शी, घनेन्द्र पौडेल र रमा दाहाललाई जनही १० हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको थियो।

खेल क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै उद्योगी महेश जाजू र प्रकाश मुन्दडालाई पनि नगद ११ हजार र सम्मानपत्रसहित सम्मान गरियो।

त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान बनाएका फुटबलका पूर्वअन्तर्राष्ट्रिय धीरेन्द्र प्रधान, अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनी, पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी राजकुमार प्रधान, राष्ट्रिय क्रिकेट प्रशिक्षक महेशप्रसाद रिजाल, पूर्वअन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी लवभक्त श्रेष्ठ, पूर्वअन्तर्राष्ट्रिय एथलेटिक्स खेलाडी जितेन्द्र चौधरी, कराँते प्रशिक्षक किरण लामा तामाङलगायतका खेलाडी र प्रशिक्षकलाई समेत सम्मान गरिएको हो।

कार्यक्रममा विभिन्न खेलका पूर्वअन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, राष्ट्रियस्तरका पदक विजेता खेलाडी, टोली व्यवस्थापक र कर्मचारीलाई पनि नगद ५ हजारदेखि १२ हजारसम्मका साथ सम्मानपत्र दिइयो।

उनीहरुलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सामाजिक विकासमन्त्री तथा बोर्ड अध्यक्ष पाँचकर्ण राई, उपाध्यक्ष विन्ध्या कार्की र सदस्य–सचिव कृष्ण बस्नेतले सम्मानपत्र प्रदान गरे।

सो अवसरमा मन्त्री चौधरीले सरकारले खेलकुदका पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिएको बताए। ‘विगतका वर्षहरूमा युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब बजेट छुट्याइन्थ्यो,’ उनले भने, ‘आगामी आर्थिक वर्षमा दोब्बरले बढाएर ६ अर्ब विनियोजन गरिएको छ।’

६ अर्ब बजेटमध्ये ४ अर्ब खेलकुद पूर्वाधार निर्माणमै केन्द्रित गरिएको मन्त्री चौधरीले बताए। ‘खेलाडी उत्पादनका लागि स्कुलदेखि ओलम्पिकसम्म लैजाने कार्यक्रम कार्यान्वयनमा लैजाने तयारी पनि भइरहेको छ,’ उनले थपे।

उनले कोशी प्रदेश खेलकुदमा पछाडि परेकाले प्रदेश र स्थानीय सरकार मिलेर खेलकुद क्षेत्रलाई उकास्ने र खेलाडीको क्षमता अभिवृद्धिमा टेवा पुग्ने कार्यक्रम ल्याउन आग्रह गरे।

View : 158

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved