मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–१ स्थित चिमाङ गाउँमा हिमाली कालो भालुको बच्चा जिउँदै उद्धार गरिएको छ ।
अन्दाजी आठदेखि नौ महिनाको उमेरको भालुको बच्चा शुक्रबार बिहान करिब ६ बजे स्थानीय संजोग थकालीको घर पछाडि रहेको स्याउ भण्डारण कक्षमा पसेर स्याउ खाइरहेको अवस्थामा फेला परेको हो । घटनाबारे स्थानीय दिलकुमारी थकालीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी) जोमसोमलाई जानकारी गराएकी थिइन् ।
सूचनापछि इलाका संरक्षण कार्यालय जोमसोम, मुस्ताङका कार्यालय प्रमुख राजेश गुप्ताको नेतृत्वमा पुगेको प्राविधिक टोलीले करिब एक घण्टा ३० मिनेटको प्रयासपछि भालुको बच्चालाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर उद्धार गरेको हो ।
एसीएपी जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक अमित चौधरीका अनुसार प्रारम्भिक स्वास्थ्य परीक्षणमा उक्त भालु अन्दाजी १५ देखि २० केजी तौलको पोथी रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ । उनका अनुसार भालुको बच्चा माउबाट छुट्टिएर वा आहाराको खोजीमा जंगलबाट गाउँ पसेको हुनसक्ने अनुमान गरिएको छ ।
स्थानीय दिलकुमारी थकालीका अनुसार भालुको बच्चा चार–पाँच दिनदेखि गाउँ वरपर देखिँदै आएको थियो । स्याउ खानकै उद्देश्यले स्याउ भण्डारण गरिएको गोठभित्र प्रवेश गरेको उनले बताइन् ।
इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख राजेश गुप्ताका अनुसार उद्धार गरिएको हिमाली कालो भालुको थप स्वास्थ्य परीक्षणपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय पोखरासँग समन्वय गरी प्रहरी तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा पुनः प्राकृतिक बासस्थानमै छाडिनेछ ।
हिमाली कालो भालु नेपालका हिमाली तथा पहाडी वन क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु हो । फलफूल, जरा, किरा तथा साना जनावर यसको मुख्य आहार हुन् । बच्चा अवस्थामा आमासँगै बस्ने स्वभाव भए पनि वासस्थान सिमित हुँदै जानु तथा कृषिबालीमा क्षति (विशेषगरी मुस्ताङको तल्लो भेगमा स्याउ र मकै) पु¥याउने घटनाका कारण मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको छ, जसका कारण यो प्रजाति जोखिममा पर्दै गएको छ ।
हालसम्म मुस्ताङको ताक्लुङ र देउराली क्षेत्रमा यस भालुको आक्रमणबाट दुई स्थानीय व्यक्ति घाइते भएको तथ्याङ्क रहेको छ ।
मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि चिमाङ गाउँको जंगल तथा बस्ती क्षेत्रमा आर्थिक वर्ष २०८१÷०८२ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी) मार्फत विद्युतीय तारबार जडान गरिएको थियो । भालुबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यो कार्यक्रम मुस्ताङ जिल्लामै पहिलो पटक लागू गरिएको हो ।
View : 140
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved