Biratnagar, Morang, Nepal
प्रदेश

मोरङ उद्योग व्यापार संघको नयाँ कार्यसमितिलाई मुख्यमन्त्री कार्कीको बधाई

-
अखवारका कुरा
३० भदौ २०८३, मङ्गलवार

Advertisement

 

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मोरङ उद्योग व्यापार संघको नवगठित ३५औँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मंगलबार आयोजित भेटघाटमा मुख्यमन्त्री कार्कीले संघका नवनिर्वाचित अध्यक्ष अनिलकुमार साहसहित पदाधिकारी, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य तथा महिला उद्यम समितिका पदाधिकारीलाई खादा तथा माला लगाएर स्वागत गर्दै बधाई दिएका हुन्।

भेटका क्रममा कार्कीले निजी क्षेत्र प्रदेशको अर्थतन्त्रको मेरुदण्ड रहेको भन्दै उद्योग–व्यवसायको संरक्षण, प्रवर्द्धन र सहजीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उद्योग–व्यवसायमैत्री नीतिगत सुधार, लगानीको वातावरण निर्माण तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।

निजी क्षेत्रका समस्या समाधान गर्न सरकार र निजी क्षेत्रबीचको साझेदारी थप बलियो बनाउने बताउँदै मुख्यमन्त्री कार्कीले निजी क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा मोरङ उद्योग व्यापार संघसँग संयुक्त रूपमा छलफल तथा बहस गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

संघका अध्यक्ष अनिलकुमार साहले मुख्यमन्त्रीबाट प्राप्त बधाई तथा शुभकामनाप्रति आभार व्यक्त गर्दै कोशी प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताए।

संघका निवर्तमान अध्यक्ष अनुपम राठीले सरकार र निजी क्षेत्रबीचको सशक्त समन्वयबाट औद्योगिक विकास, रोजगारी सिर्जना तथा प्रदेशको आर्थिक समृद्धिलाई गति दिन सकिने बताए।

भेटघाटमा प्रदेश सरकारका उच्च अधिकारी, संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा महिला उद्यमीहरूको उपस्थिति थियो।

View : 33

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved