कोबास कलेजको बिदाइ समारोह
विराटनगर — विराटनगरस्थित कोबास कलेजमा कक्षा १२ का विद्यार्थीहरूको सम्मानमा एक भव्य बिदाइ कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक र अतिथिहरूको उल्लेखनीय सहभागितासँगै कलेज जीवनका सुनौला क्षणहरूलाई बिदाइका भावनात्मक पलसँग गाँसेको थियो।
कार्यक्रममा सारडा ग्रुपका निर्देशक प्रदिप सारडा विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। उनले कलेजकी प्रधानाध्यापक प्रिया सरडासँगै उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने प्रथम, द्वितीय, र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।
कार्यक्रमको संचालन शिक्षक एकलब्य यादवले अत्यन्त आकर्षक र व्यवस्थित ढंगले गरेका थिए। सांस्कृतिक कार्यक्रममा युवा गायक शुभम न्यौपानेको सजीव गायनले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। साथै, विद्यार्थीहरूको नृत्य, गीत,तथा विविध प्रस्तुतीहरूले सम्पूर्ण वातावरणलाई उल्लासमय बनायो।
विद्यार्थी प्रतिनिधिका रूपमा सुदर्शन रेग्मी र प्राप्ति बस्नेतले आफ्ना भावनात्मक विचार राख्दै कलेजमा बिताएका अमूल्य अनुभवहरू, शिक्षकहरूको साथ, र साथीहरूको सम्झनालाई आत्मीयतापूर्वक व्यक्त गरे। उनीहरूको सम्बोधनले धेरैलाई भावुक बनायो।
परम्परागत नेपाली पहिरनमा सजिएका विद्यार्थीहरूले कार्यक्रमको सौन्दर्यमा विशेष रङ थपेका थिए। बिदाइ कार्यक्रममा हर्ष, उमंग र अविस्मरणीय सम्झनाहरू मिसिएका थिए।
कार्यक्रमको समापनमा प्रधानाध्यापक प्रिया सरडाले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै भनिन्,“शिक्षा केवल किताबमै सीमित हुँदैन, यहाँबाट तपाईंहरूले पाएको अनुशासन, सम्मान र मूल्य नै तपाईंहरूको जीवनको सारथी बन्नेछ।”
उनले विद्यार्थीहरूलाई आगामी जीवनका चुनौतीहरूलाई आत्मविश्वासका साथ सामना गर्न प्रेरित गर्दै सफलता, इमानदारी र निष्ठाका साथ अघि बढ्न आग्रह गरिन्।
स्मृतिका यी मिठा पलहरू, आँखा रसाउने बिदाइका शब्दहरू, र सँगै बिताएका क्षणहरूले बिदाइ कार्यक्रमलाई साँच्चिकै अविस्मरणीय बनाएको थियो।
View : 51
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved