Biratnagar, Morang, Nepal
स्थानीय तह

उपप्रधानमन्त्री सिंहद्वारा लोहन्द्रा पक्की पुल उद्घाटन, पूर्वाधार विकासमार्फत जनजीवन सहज हुने अपेक्षा

-
अखवारका कुरा
३ वैशाख २०८२, बुधवार

Advertisement

मोरङ, बैशाख ३

उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आर्थिक विकासको मूल आधारको रूपमा अगाडि बढाउनुपर्ने बताएका छन्।

बुधबार उनले मोरङ जिल्लाको जहदा गाउँपालिका र कटहरी गाउँपालिकालाई जोड्ने लोहन्द्रा पक्की पुलको उद्घाटन गर्दै सो कुरा बताएका हुन्।

उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भने, “अर्थतन्त्र चलायमान बनाउन पूर्वाधारको विकास अपरिहार्य छ। यस्तो संरचना निर्माणले स्थानीय जनताको दैनिकी सहज बनाउनेछ र आर्थिक क्रियाकलापमा पनि गति ल्याउनेछ।”

पुल निर्माणसँगै स्थानीयहरूलाई दैनिक आवागमनमा सहजता मिलेको छ। शिक्षासँगै स्वास्थ्य, व्यापार तथा कृषि क्षेत्रलाई समेत यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

उक्त दिन सिंहले जहदा र कटहरी जोड्ने अर्को पुलको समेत उद्घाटन गरेका थिए। दुबै संरचनाले मोरङ जिल्लाको ग्रामीण क्षेत्रलाई मुख्य सडक सञ्जालसँग जोड्ने र विकासको प्रवाह तीव्र बनाउने विश्वास गरिएको छ।

उनले कार्यक्रममा थपे, “राजनीतिमा हाम्रो उद्देश्य जनताको अधिकार सुनिश्चित गर्नु हो। ती अधिकारलाई व्यवहारमा उतार्न हामी पूर्वाधार निर्माणमार्फत जनजीवन सहज बनाउन प्रतिबद्ध छौं।”

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, निर्माण कम्पनीका प्रतिनिधिहरू, सञ्चारकर्मी र स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

View : 92

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved