Biratnagar, Morang, Nepal
स्वास्थ

बहु दीर्घकालीन रोग अध्ययनको उद्घाटन विराटनगरमा सम्पन्न

-
अखवारका कुरा
१७ कार्तिक २०८२, सोमवार

Advertisement

 

विराटनगर । सेन्टर फर रिसर्च, पोलिसी एन्ड इम्प्लिमेन्टेसन प्रा. लि.को आयोजना तथा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको सहकार्यमा “बहु दीर्घकालीन रोग सम्बन्धी टाइप–२ इम्प्लिमेन्टेसन ट्रायल अध्ययन” कार्यक्रमको औपचारिक उद्घाटन विराटनगरस्थित होटल इस्टर्न स्टारमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव यदुचन्द्र घिमिरे रहेका थिए। कार्यक्रममा नेपाल सरकारका तीनै तह — संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य क्षेत्रका विज्ञ, नीति निर्माता, चिकित्सक तथा अनुसन्धानकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त अध्ययन कार्यक्रम मोरङ र सुनसरी जिल्लामा सञ्चालन हुने भएको छ। यस अध्ययनका लागि NHMRC (National Health and Medical Research Council) र GACD (Global Alliance for Chronic Diseases) को सहयोग रहेको छ र    भने अस्ट्रेलियन नेशनल युनिभर्सिटी (ANU) को अगुवाइमा यो अध्ययनहुने छ । सो को नेतृत्व विराटनगरका वासिन्दा तथा हाल अस्ट्रेलियामा अस्ट्रेलियन नेशनल युनिभर्सिटीमा कार्यरत प्रोफेसर डाक्टर उदय नारायण यादवले गर्नेछन । 

विश्वविद्यालयका प्राध्यापकहरूले कार्यक्रममा अध्ययनको पृष्ठभूमि, उद्देश्य, अनुसन्धान विधि तथा अपेक्षित परिणामबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।

युनिभर्सिटीका तर्फबाट प्रोफेसर डाक्टर उदय नारायण यादव र  प्रोफेसर डाक्टर हरि बोन्धु शर्माले अध्ययनका बारेमा प्रष्ट पारेका थिए । 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरू, विभिन्न प्रदेश र स्थानीय तहका स्वास्थ्य प्रमुखहरू, अस्पतालका प्रतिनिधि, र सार्वजनिक स्वास्थ्यका विज्ञहरूको समेत सहभागिता रहेको थियो।

वक्ता एवं सहभागीहरूले बहु–दीर्घकालीन रोगहरू (जस्तै मधुमेह, उच्च रक्तचाप, हृदय रोग, फोक्सो र मृगौला सम्बन्धी समस्या) नेपालमा द्रुत रूपमा बढ्दै गएको बताए। उनीहरूका अनुसार यस्तो अध्ययनले रोगहरूको सामूहिक व्यवस्थापन, प्रारम्भिक निदान र दीर्घकालीन उपचारको प्रभावकारिता बुझ्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

पूर्व सचिव डा. पोखरेलले यस अध्ययनले नीति निर्माणदेखि व्यवहारिक स्वास्थ्य सेवा सुधारसम्मका क्षेत्रमा प्रमाण–आधारित मार्गनिर्देशन प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले भने, “नेपालजस्तो विकासोन्मुख देशमा बहु रोग व्यवस्थापनका चुनौतीहरू उच्च छन्। यस्तो अनुसन्धानले हामीलाई समग्र स्वास्थ्य प्रणाली सुधार गर्न वैज्ञानिक आधार तयार पारिदिनेछ।”

कार्यक्रममा सहभागी विज्ञहरूले अध्ययनबाट प्राप्त हुने निष्कर्ष र सिफारिसलाई प्रदेश तथा संघीय तहका स्वास्थ्य नीति र कार्यान्वयन योजनामा समायोजन गर्न आग्रह गरे। उनीहरूले प्रभावकारी कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहबीच सुदृढ समन्वय र दीर्घकालीन प्रतिबद्धता आवश्यक रहेको पनि उल्लेख गरे।

 प्रमुख अतिथि सचिव घिमिरेले अध्ययन सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै यसले प्रदेशमा बहु रोग व्यवस्थापनका नयाँ दृष्टिकोण र व्यवहारिक समाधानहरू ल्याउने विश्वास व्यक्त गरे।

सस्थाका अध्यक्ष बि एन चौधरीले आगामी दिनमा सस्थाले अध्ययन तथा अनुसन्धानका माध्यमबाट स्वस्थ समाज निर्माणमा योगदान दिने जानकारी दिए ।

View : 598

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved