Biratnagar, Morang, Nepal
स्थानीय तह

क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिताका सञ्चालन गर्न महानगरपालिका र विधागत संघहरुका बिच सम्झौता

-
अखवारका कुरा
१४ जेठ २०८३, बिहिवार

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले क्रिकेट, ब्याडमिन्टन र पौडी प्रतियोगिता सञ्चालन गर्न विभिन्न विधागत संघहरुसँग सम्झौता गरेको छ ।

काठमाडौं महानगरपालिकाले ‘पिएल सिंह टी ट्वान्टी क्रिकेट कप’ आयोजना गर्न बागमती प्रदेश क्रिकेट संघसँग, ‘काठमाडौं महानगर कप वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता’ आयोजना गर्न काठमाडौं जिल्ला ब्याडमिन्टन संघसँग र ‘काठमाडौं महानगरपालिका मेयर कप पौडी प्रतियोगिता’ सञ्चालन गर्न नेपाल पौडी संघसँग सम्झौता गरेको हाे ।

बुधबार काठमाडौं प्लाजामा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र सामाजिक समितिका संयोजक रामकुमार के.सी. को रोहवरमा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र क्रिकेट संघका सचिव प्रसन्न शाक्य, ब्याडमिन्टन संघका अध्यक्ष दिपक थापा र पौडी संघका अध्यक्ष जगमान श्रेष्ठका बिच सम्झौता भएको हो । यी प्रतियोगिताहरू महानगरपालिकासँग संयुक्त व्यानरमा सञ्चालन हुनेछन् ।

क्रिकेट प्रतियोगिताका लागि महानगरपालिकाले ७५ लाख रुपियाँ, ब्याडमिन्टन प्रतियोगिताका लागि ३० लाख रुपियाँ र पौडी प्रतियोगिताका लागि १० लाख रुपियाँ उपलब्ध गराउनेछ । यी प्रतियोगिताका लागि संघहरुले २० प्रतिशत लागत सहभागिता व्यहोर्नु पर्नेछ । क्रिकेट असार ५ गतेभित्र, ब्याडमिन्टन असार २ गतेभित्र र पौडी प्रतियोगिता जेठ २३ र २४ गते आयोजना हुनेछ ।

क्रिकेट प्रतियोगितामा काठमाडौं ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगन्ज गरी ६ वटा महानगरपालिकाबाट खेलाडी सहभागी हुने गरी सञ्चालन गरिनेछ । पौडी राष्ट्रिय स्तरको खुला प्रतियोगिता हो । यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय र ओलम्पियनहरुका बिचमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता अन्तर्राष्ट्रिय पौडी पोखरीमा जेठ २३ र २४ गते आयोजना हुनेछ ।

ब्याडमिन्टन प्रतियोगिता महानगर स्तरीय हो । यसमा सबै वडाबाट खेलाडी सहभागी गराएर सञ्चालन गरिनेछ ।

सम्झौतापछि संक्षिप्त प्रतिक्रियामा कार्यवाहक प्रमुख डंगोलले स्थानीय स्तरमा खेलकुदलाई प्रवर्धन गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सहकार्य गरिएको बताइन् ।

खेल विकासका लागि सम्बन्धित क्षेत्रका खेलाडी र विज्ञहरूका साथमा बसेर काम गरिरहेको बताउँदै सामाजिक समितिका संयोजक के.सी.ले सहकार्य, समन्वय र लगानी बढाउँदै लगिने बताए ।

View : 46

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved