Biratnagar, Morang, Nepal
सामाजिक सेवा

भोटेकोसी बाढीपीडितका लागि लायन्स क्लब अफ विराटनगर शुभमद्वारा ५६ हजार ५ सय ११ रुपैयाँ सहयोग

-
अखवारका कुरा
१५ भदौ २०८३, सोमवार

Advertisement

 

विराटनगर । भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्र बढी प्रभावित भइरहेका बेला बाढीपीडित नागरिकको राहत तथा उद्धारका लागि लायन्स क्लब अफ विराटनगर शुभमले ५६ हजार ५ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

विपत्तिमा परेका नागरिकप्रति मानवीय एकता र सेवाभाव प्रकट गर्दै क्लबले उक्त सहयोग रकम लायन्स डिस्ट्रीक्ट ३२५ सी, नेपाललाई हस्तान्तरण गरेको हो। डिस्ट्रीक्ट ३२५ सीले विभिन्न लायन्स क्लब तथा सदस्यहरूबाट संकलन भएको सहयोग रकम एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने जनाएको छ।

भोटेकोसी क्षेत्रमा आएको बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। बाढी र त्यसपछिको विपत्तिका कारण जनधनको क्षति हुनुका साथै प्रभावित क्षेत्रमा उद्धार तथा राहतको आवश्यकता बढिरहेको छ। विपत्तिमा ज्यान गुमाउनेको संख्या समेत बढ्दै जाँदा देशभरबाट सहयोग र सहकार्यको अभियान तीव्र बन्दै गएको छ।

लायन्स क्लब अफ विराटनगर शुभमकी अध्यक्ष शारदा दाहालले प्राकृतिक विपत्तिको पीडामा परेका नागरिकको दुःखमा साथ दिनु सबैको साझा मानवीय दायित्व भएको बताइन्।

उनले भनिन्, “विपत्तिको यो पीडादायी घडीमा बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीको दुःखमा साथ दिनु नै साँचो मानव सेवा हो। हामीले प्रदान गरेको सहयोग रकम सानो भए पनि यसमा पीडितप्रतिको माया, सद्भाव र साथ जोडिएको छ।”

अध्यक्ष दाहालले संकटका बेला समाजका सबै व्यक्ति तथा संघसंस्था एकजुट भएर पीडितको सहयोगमा जुट्नुपर्नेमा जोड दिँदै लायन्स क्लब अफ विराटनगर शुभम मानवीय सेवाको अभियानमा निरन्तर सक्रिय रहने बताइन्।

उनले सहयोग अभियानमा साथ दिने क्लबका सम्पूर्ण सदस्य तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै भनिन्, “जहाँ पीडा हुन्छ, त्यहाँ सेवा पुग्नुपर्छ भन्ने लायन्सको मूल भावनालाई आत्मसात गर्दै हामी बाढीपीडितको साथमा उभिएका छौँ।”

देश प्राकृतिक विपत्तिको पीडामा रहेका बेला लायन्स क्लब अफ विराटनगर शुभमको यो सहयोगले मानवीयता, सहकार्य र सेवाभावको सुन्दर उदाहरण प्रस्तुत गरेको छ। विपत्तिले घर र सम्पत्ति बगाए पनि नेपालीहरूको एकता र एकअर्काको पीडामा साथ दिने संस्कार अझै बलियो रहेको सन्देश यस अभियानले दिएको छ।

View : 32

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved