बर्खे अधिवेशनमा बजेट, नीति तथा कार्यक्रम र विधेयकहरूको चाङ
विराटनगर – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम आगामी जेठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गर्दै प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पेश गर्नका लागि अनुरोध गर्ने निर्णय गरेको हो।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार, सरकारले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्न आवश्यक प्रक्रिया मिलाउन आग्रह गरेको छ। उनले भने, “सरकारको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ। अब प्रदेश सभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेश सभालाई पनि आग्रह गरिएको छ।”
बर्खे अधिवेशनमा विधेयकहरू प्रस्तुत हुने
प्रदेश सरकारका प्रवक्ता रेवती रमण भण्डारीका अनुसार, सातौं बर्खे अधिवेशनमा विभिन्न महत्त्वपूर्ण विधेयकहरू पेस हुने तयारी रहेको छ। ती विधेयकहरूमा शैक्षिक परामर्शसम्बन्धी, भूमिसम्बन्धी, कर्मचारीहरूको योगदानमा आधारित निवृत्तिभरणसम्बन्धी र तथ्यांकसम्बन्धी विधेयक रहेका छन्।
यसअघि नै प्रदेश सभामा सञ्चारसम्बन्धी तीनवटा विधेयक विचाराधीन अवस्थामा छन्। ती विधेयकहरूमाथि यस अधिवेशनमा छलफल हुने बताइएको छ।
विपक्षी दलको गैरसरकारी विधेयकमा पनि छलफल हुने
अघिल्लो अधिवेशनमा विपक्षी दलका सांसदहरूले प्रस्तुत गरेको सरकारी कामकाजको भाषा सम्बन्धी गैरसरकारी विधेयक पनि प्रदेश सभामा दर्ता भइसकेको छ। यस विधेयकमाथि छलफल हुने सम्भावना रहेको प्रवक्ता भण्डारीले जानकारी दिए।
आइतबारको बैठकको मुख्य कार्यसूची
आइतबार दिउँसो २ बजेबाट सुरु हुने अधिवेशनको पहिलो बैठकमा दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, प्रदेश प्रमुखबाट पठाइएको पत्र वाचन गरिनेछ। यससँगै सरकारले ल्याएको ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२’ पनि सभामा टेबुल हुनेछ।
View : 35
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved