Biratnagar, Morang, Nepal
शिक्षा

भोटेकोशी बाढीपीडितका लागि हिसान मोरङको ५४ लाख सहयोग

-
अखवारका कुरा
२६ भदौ २०८३, शुक्रवार

Advertisement

 

विराटनगर । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङले ५४ लाख ६५ हजार ८ सय ३४ रुपैयाँ सहयोग गरेको छ ।

सरकारको आह्वानमा हिसान मोरङले संकलन गरेको उक्त रकममध्ये २६ लाख ३३ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा र २८ लाख ३२ हजार २ सय ७९ रुपैयाँ हिसान केन्द्रीय समितिमार्फत परिचालन हुने गरी जम्मा गरिएको हो ।

हिसान मोरङका अध्यक्ष अमित ढकालका अनुसार बाढीपहिरोबाट रुसुवा, चुवाकोट, बर्दिया, लमजुङलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार तथा राहतका लागि सहयोग गरिएको हो ।

‘विपद्का बेला शिक्षा क्षेत्रको भूमिका कक्षाकोठाभित्र मात्र सीमित हुँदैन,’ अध्यक्ष ढकालले भने, ‘प्रभावित नागरिकको जीवन सहज बनाउन सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग र सहकार्य गर्न हिसान प्रतिबद्ध छ।’

हिसान मोरङले तत्कालीन राहतसँगै विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणमा समेत दीर्घकालीन योजना आवश्यक रहेको जनाएको छ । सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वयंसेवक तथा सामाजिक संघसंस्थाले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानमा सहकार्य गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने अध्यक्ष ढकालले बताए ।

हिसान मोरङले प्रभावित नागरिकको शीघ्र उद्धार, राहत वितरण र पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै विपद्पछिको पुनर्निर्माणलाई दीर्घकालीन योजनासहित अघि बढाउन आग्रह गरेको छ ।

View : 27

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved