विराटनगर - महामारीजन्य तथा संक्रामक रोगको प्रारम्भिक पहिचान, समयमै सूचना प्रवाह र प्रभावकारी नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले स्वास्थ्यकर्मीहरूलाई समुदायमा आधारित रोग निगरानी प्रणाली (सीबीडीएस) सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।
महानगरको स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रममा १९ वटै वडामा कार्यरत स्वास्थ्यकर्मीहरू सहभागी छन्। उनीहरूलाई समुदायस्तरमा देखिने रोगका लक्षण पहिचान, जोखिम मूल्यांकन, सूचना व्यवस्थापन तथा महामारी नियन्त्रणसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने जनाइएको छ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले रोग तथा महामारी नियन्त्रणको आधार समयमै सूचना प्राप्ति र प्रभावकारी समन्वय भएको बताए। समुदायमा देखिएका असामान्य स्वास्थ्य अवस्थाबारे तत्काल जानकारी संकलन र सम्प्रेषण गर्न स्वास्थ्यकर्मीलाई उनले आग्रह गरे।
‘रोगको संकेत देखिनासाथ निगरानी र सचेतनालाई सक्रिय बनाउनुपर्छ,’ उनले भने, ‘सूचना प्रवाहमा ढिलाइ हुँदा महामारी नियन्त्रण चुनौतीपूर्ण बन्न सक्छ।’
महानगरका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष सन्तोष न्यौपानेले कोरोना महामारीका बेला समुदायस्तरमा सञ्चालन गरिएका जनचेतनामूलक गतिविधिले जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे। भविष्यमा पनि महामारीको जोखिम देखिए समुदाय, स्वास्थ्यकर्मी र स्थानीय सरकारबीचको सहकार्य नै प्रभावकारी उपाय हुने उनको भनाइ थियो।
स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले महामारी नियन्त्रणमा स्वास्थ्यकर्मीको भूमिका निर्णायक हुने उल्लेख गर्दै समुदायमा देखिएका रोगका प्रारम्भिक संकेतको समयमै रिपोर्टिङ हुन सके संक्रमण फैलिनुअघि नै नियन्त्रण गर्न सकिने बताए।
‘प्रारम्भिक लक्षणलाई बेवास्ता नगरी तत्काल रिपोर्टिङ गर्ने प्रणाली बलियो बनाउनु आवश्यक छ,’ उनले भने।
जनस्वास्थ्य अधिकृत रमेश कार्कीका अनुसार अभिमुखीकरणमा स्वास्थ्यकर्मीलाई ‘सोरमास’ सूचना प्रणाली सञ्चालनसम्बन्धी प्रशिक्षणसमेत दिइएको छ। उक्त डिजिटल प्रणालीमार्फत स्थानीय तहबाट संकलित स्वास्थ्यसम्बन्धी सूचना प्रदेश तथा संघीय निकायसम्म छिटो र व्यवस्थित रूपमा पुग्नेछ।
उनले समयमै सूचना आदानप्रदान हुन सके महामारी नियन्त्रणका लागि आवश्यक स्रोत परिचालन, जोखिम विश्लेषण तथा रणनीति निर्माणमा सहजता आउने बताए। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै समुदायमै रोग पहिचान र नियन्त्रण गर्ने क्षमता विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।
स्वास्थ्य विज्ञहरूका अनुसार जलवायु परिवर्तन, तीव्र शहरीकरण र बढ्दो जनघनत्वका कारण संक्रामक रोगको जोखिम बढिरहेका बेला समुदायमा आधारित रोग निगरानी प्रणाली सार्वजनिक स्वास्थ्य व्यवस्थापनको महत्वपूर्ण आधार बन्दै गएको छ। यस्तो प्रणालीले रोगको प्रारम्भिक संकेत पहिचान गरी सम्भावित महामारी फैलिनुअघि नै नियन्त्रण गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक सागर प्रसाईं, पीएचआरडीका जनस्वास्थ्य प्रशासकलगायतको उपस्थितिमा सुरु भएको कार्यक्रममा महानगरका १९ वटै वडाका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको जनस्वास्थ्य निरीक्षक योगेश श्रेष्ठले जानकारी दिए।
View : 39
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved