एमएम कप क्रिकेट
विराटनगर – विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी तेस्रो मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा एपिएफ क्लबले प्रभावशाली जित निकाली शिर्ष स्थानमा आफ्नो पकड जमाएको छ।
समूह 'ए' अन्तर्गत आइतबार सम्पन्न खेलमा एपिएफले वागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै दुई अंक जोडेको हो। पहिलो खेलमा आर्मी क्लबसँग पराजित भएको एपिएफले दोस्रो खेलमा शानदार पुनरागमन गर्दै प्रतियोगितामा बलियो उपस्थिती जनाएको छ।
टस हारेर ब्याटिङ गरेको वागमती प्रदेशले एपिएफका धारिलो बलिङका अगाडि टिक्न सकेन। वागमतीले १९.३ ओभरमै आफ्ना सबै विकेट गुमाउँदै मात्र ८० रन जोड्न सक्यो। कप्तान ऋत गौतमले ३१ रन, विवेक राना मगरले १३ रन र उत्तम थापा मगरले १० रनको योगदान दिएका थिए।
एपिएफका प्रकाश जैशीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट हात पारेका थिए र 'प्लेयर अफ द म्याच' घोषित भए। हविशेष गौतमले ३ विकेट तथा भोजराज भट्टले २ विकेट लिएका थिए।
८१ रनको लक्ष्य पछ्याएको एपिएफले ९.४ ओभरमै लक्ष्य पूरा गर्दै सहज जित दर्ता गर्यो। जितमा दीपक बोहराले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४८ रन बनाएका थिए भने सुमित महर्जनले अविजित १८ रनको साथ दिए। वागमतीका असिम श्रेष्ठले २ विकेट लिन सफल भए।
हाल एपिएफले २ खेलमा १ जित र १ हारसहित २ अंक जोडेर शिर्ष स्थानमा उक्लिएको छ। आर्मी एक जितसहित दोस्रो स्थानमा रहेको छ भने वागमती अंकविहीन अवस्थामा छ।
समूह 'ए' अन्तर्गतको अन्तिम लिग खेल सोमबार आर्मी र वागमतीबीच हुने आयोजक सस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिएका छन्।
View : 28
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved