Biratnagar, Morang, Nepal
स्थानीय तह

सीडी–४ परीक्षण अभावले एचआईभी उपचार प्रभावित, समाधानका लागि पहल गर्ने मेयर नागेश कोइरालाको प्रतिबद्धता

-
अखवारका कुरा
२९ असार २०८३, सोमवार

Advertisement

विराटनगर — कोशी प्रदेशमा एचआईभी संक्रमितको उपचारमा अत्यावश्यक मानिने सीडी–४ परीक्षण सेवा अभाव हुँदा उपचार व्यवस्थापनमा चुनौती थपिएको सरोकारवालाले बताएका छन्। एएचएफ नेपालद्वारा विराटनगरमा आयोजित स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा सहभागीहरूले परीक्षण सेवा सहज बनाउन संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका हुन्।
बैठकमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सीडी–४ परीक्षणमा देखिएको समस्या समाधानका लागि महानगरपालिकाले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। उनले संघीय तथा प्रदेश सरकारसँग समन्वय गरी आवश्यक परे महानगरकै स्रोतबाट बजेट व्यवस्थापन गरेर पनि परीक्षण सेवा सहज बनाउन प्रयास गरिने बताए।
‘विराटनगरमा एचआईभी संक्रमणको भार तुलनात्मक रूपमा बढी छ। संक्रमितले गुणस्तरीय उपचार र परीक्षण सेवा सहज रूपमा पाउनुपर्छ भन्नेमा महानगर गम्भीर छ,’ मेयर कोइरालाले भने।
एएचएफ नेपालका एआरटी क्लिनिक अधिकृत केशव बस्नेतका अनुसार विराटनगरमा मात्रै २०० भन्दा बढी एचआईभी संक्रमित नियमित रूपमा एआरटी (एन्टिरिट्रोभाइरल थेरापी) सेवामा आबद्ध छन्। कोशी अस्पतालस्थित एआरटी केन्द्रमा कोशी प्रदेशका विभिन्न जिल्लाका साथै मधेश प्रदेश, बागमती प्रदेश र भारतबाट समेत बिरामी उपचारका लागि आउने भएकाले सेवाग्राहीको चाप निरन्तर बढिरहेको उनले बताए।
उनका अनुसार एआरटी केन्द्रमा पहिलो पटक उपचार सुरु गरेपछि नियमित फलोअपमा नआउने बिरामीको संख्या पनि बढ्दो छ। उपचारलाई निरन्तरता नदिँदा बिरामीको स्वास्थ्य अवस्थामात्र नभई संक्रमण नियन्त्रणको प्रयाससमेत प्रभावित हुने उनले बताए।
विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दिलीपकुमार यादवले महानगर क्षेत्रमा एचआईभी संक्रमितको संख्या बढ्दै गएको अवस्थामा एएचएफ नेपालले उपचार, जनचेतना अभिवृद्धि तथा जनप्रतिनिधिलाई नियमित जानकारी गराएर स्थानीय तहलाई महत्वपूर्ण सहयोग पुर्‍याएको बताए।
एएचएफ नेपालका अनुसार चालु अवधिमा कोशी अस्पतालमार्फत १०२ पटक बिरामीलाई यातायात सहयोग, ७२ जनालाई खाद्य तथा पोषण सहयोग, ५६ जनालाई औषधि सहयोग तथा २९ जनालाई प्रयोगशाला परीक्षण सहयोग प्रदान गरिएको छ। साथै एचआईभीबारे जनचेतना विस्तार, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा गुणस्तरीय सेवा प्रवाहका लागि निरन्तर चिकित्सकीय शिक्षा (सीएमई) लगायतका कार्यक्रम सञ्चालन भइरहेको संस्थाले जनाएको छ।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेशमा २ हजार ६२३ जना एआरटी सेवामा आबद्ध छन् भने देशभर २७ हजार ५४ जनाले एआरटी सेवा लिइरहेका छन्। सबैभन्दा बढी ७ हजार १०४ जना बागमती प्रदेशमा रहेका छन्।
हाल कोशी अस्पतालस्थित एआरटी केन्द्रबाट ७ जना बालबालिका र ६५० जना वयस्क गरी ६५७ जनाले नियमित उपचार सेवा लिइरहेका छन्।
बैठकमा सहभागीहरूले नेपाल–भारत खुला सीमाबाट हुने आवतजावतलाई ध्यानमा राख्दै सीमावर्ती नाकामा एचआईभी परीक्षण, परामर्श र उपचारमा पहुँच विस्तार गर्न आवश्यक रहेकोमा पनि जोड दिएका थिए।

View : 69

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved