काठमाडौँ । इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले उत्कृष्ट प्रदर्शन जारी राख्दै लगातार चौथो जित दर्ता गरेको छ।
शुक्रबार गुवाहाटीस्थित बरसापारा क्रिकेट रंगशालामा भएको खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले पराजित गर्दै राजस्थानले अंक तालिकामा आफ्नो पकड मजबुत बनाएको हो।
२ सय २ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको राजस्थानले मात्र १८ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दै प्रभावशाली जित निकाल्यो। राजस्थानका लागि ध्रुव जुरेलले ८१ रनको शानदार पारी खेले भने वैभव सूर्यवंशीले ७८ रनको योगदान दिए। त्यस्तै, रविन्द्र जडेजाले २४ रन थपे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १ रन बनाएको थियो। आरसीबीका लागि रजत पाटिदारले ६३ रनको अर्धशतकीय पारी खेले। विराट कोहलीले ३२ रन जोड्दा वेंकटेश अय्यरले २९ रन बनाए।
यस जितसँगै राजस्थान रोयल्स ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने पराजित रोयल च्यालेन्जर्स बेंगलुरु ३ खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा सीमित बनेको छ।
View : 129
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved