विराटनगर । नेपाली ब्यान्ड अल्बाट्रोस पहिलोपटक विराटनगरमा प्रस्तुति दिन आउने भएको छ। कात्तिक २० गते शुक्रबार जैन भवनमा आयोजना हुने ‘विराटनगर म्युजिक फेस्टिभल’ले यहाँका संगीतप्रेमीलाई आफ्नै सहरमा अल्बाट्रोसको प्रत्यक्ष प्रस्तुति सुन्ने अवसर जुटाउने भएको हो।
लाइभ इन्टरटेन्टमेन्टले विगत चार वर्षदेखि चाडपर्वको अवसर पारेर आयोजना गर्दै आएको फेस्टिभलमा यसपटक अल्बाट्रोसलाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिनेछ। सोही मञ्चमा रकहेड ब्यान्डले पनि आफ्नो प्रस्तुति दिँदै दर्शकलाई सांगीतिक मनोरञ्जन प्रदान गर्नेछ।
आयोजकले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। यस वर्ष दर्शकलाई अन्तर्राष्ट्रिय स्तरको सांगीतिक अनुभव प्रदान गर्ने गरी फेस्टिभलको तयारी गरिएको आयोजकले जनाएको छ।
आयोजक सेन्ट्रो महतका अनुसार अल्बाट्रोसको पहिलो विराटनगर प्रस्तुति यस वर्षको फेस्टिभलको विशेष आकर्षण हुनेछ। कार्यक्रममा विराटनगरसहित आसपासका क्षेत्रबाट ठूलो संख्यामा संगीतप्रेमी सहभागी हुने अपेक्षा गरिएको उनले बताए।
फेस्टिभल दिउँसो ४ बजेदेखि सुरु भएर राति १० बजेसम्म सञ्चालन हुनेछ। महतका अनुसार साधारण प्रवेश शुल्क प्रतिव्यक्ति ३०० रुपैयाँ र भिआइपी टिकटको मूल्य एक हजार रुपैयाँ निर्धारण गरिएको छ।
अल्बाट्रोसको पहिलो आगमनसँगै रकहेडको प्रस्तुतिले पनि चाडपर्वको माहोलमा सांगीतिक रौनक थप्ने आयोजकको विश्वास छ।
View : 25
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved