विराटनगर । कोशी प्रदेशमा एचआईभी संक्रमण नियन्त्रणका लागि परीक्षण, उपचार र जनचेतना कार्यक्रम प्रभावकारी बनाउँदै लगिएको भए पनि जोखिम समूहमा संक्रमणको चुनौती अझै कायम रहेको सरोकारवालाले बताएका छन्।
प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय मोरङको आयोजनामा तथा एएचएफ नेपालको आर्थिक सहयोगमा शुक्रबार विराटनगरमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा एचआईभीको वर्तमान अवस्था, रोकथाम र उपचार सेवाबारे छलफल गरिएको हो।
कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य प्रमुख योगराज घिमिरेले नेपालमा दैनिक औसत दुई जनामा एचआईभी संक्रमण देखिने गरेको जानकारी दिनुभयो। उहाँका अनुसार लागूऔषध प्रयोगकर्तामा संक्रमणको जोखिम बढी रहेको छ।
उहाँले सरकारले लिएको ९५–९५–९५ लक्ष्यअनुसार संक्रमित व्यक्तिलाई पहिचान, उपचार र भाइरल लोड नियन्त्रणमा ल्याउन काम भइरहेको बताउनुभयो। कोशी प्रदेशमा संक्रमित खोजी अभियानलाई व्यापक बनाइएको उनको भनाइ थियो।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार हाल नेपालमा ३४ हजार ३ सय ७७ जना अनुमानित एचआईभी संक्रमित रहेका छन्। कोशी प्रदेशका ११ तथा देशभर ९२ सेवा केन्द्रमार्फत एचआईभी सम्बन्धी सेवा प्रदान भइरहेको जानकारी दिइएको थियो।
एएचएफ नेपालले सन् २००९ देखि विभिन्न अस्पतालहरूसँग सहकार्य गर्दै एचआईभी संक्रमित समुदायसँग काम गर्दै आएको बताउँदै कोशी प्रदेशअन्तर्गत कोशी अस्पताल र भद्रपुर अस्पतालसहित देशका १९ अस्पतालमा परीक्षण, उपचार, परामर्श र जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको एएचएफ नेपालका एआरटी क्लिनिक अफिसर केशव वस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रममा आमाबाट बच्चामा संक्रमण रोकथाम, एआरटी केन्द्रको सुदृढीकरण, भाइरल लोड परीक्षण किटको नियमित आपूर्ति तथा अस्पतालसँगको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको थियो।
सरोकारवालाले एचआईभी नियन्त्रणमा सरकारी संयन्त्र मात्र पर्याप्त नहुने उल्लेख गर्दै समुदायस्तरमा जनचेतना अभिवृद्धि र बहुपक्षीय सहकार्य अपरिहार्य रहेको धारणा राखेका छन्।
View : 58
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved