Biratnagar, Morang, Nepal
खेलकुद

विराटनगर किंग्सलाई एक्स्ट्रिमको साथ, मुख्य प्रायोजकको रूपमा सहकार्य

-
अखवारका कुरा
२९ साउन २०८३, शुक्रवार

Advertisement

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किंग्सले लोकप्रिय नेपाली इनर्जी ड्रीन्क्स ब्रान्ड ‘एक्स्ट्रिम’सँग मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ। शुक्रबार सम्पन्न औपचारिक सम्झौतासँगै एक्स्ट्रिम अब विराटनगर किंग्सको मुख्य प्रायोजक बनेको छ।


‘कोशीको शान, हाम्रो पहिचान’ भन्ने नाराका साथ नेपाली क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको विराटनगर किंग्सले पछिल्ला दुई सिजनमा प्रभावशाली प्रदर्शन गर्दै समर्थकमाझ बलियो उपस्थिति स्थापित गरेको छ। नयाँ सहकार्यसँगै टिमको जर्सी तथा विभिन्न प्रमुख ब्रान्डिङ प्लेटफर्महरूमा एक्स्ट्रिमको लोगो र उपस्थिति रहने जनाइएको छ।


सम्झौता कार्यक्रममा विराटनगर किंग्सका निर्देशक पारस लुनियाले स्वदेशी ब्रान्डसँग सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताए। नेपाली उत्पादन र नेपाली खेलकुदबीचको सहकार्यले राष्ट्रिय खेलकुदको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले यस्ता साझेदारीलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।


उनले विराटनगर किंग्सको यात्रामा साथ दिएकोमा एक्स्ट्रिमप्रति आभार व्यक्त गर्दै आगामी दिनमा नेपाली क्रिकेट र स्वदेशी उद्योगबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।


विराटनगर किंग्स र एक्स्ट्रिमबीचको यो सहकार्यले टिमको व्यावसायिक तथा खेलकुद यात्रालाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

 नेपाली क्रिकेटको प्रवर्द्धन, युवा खेलाडीको उत्साह बढाउन  तथा आगामी एनपीएल अभियानलाई अझ प्रभावकारी बनाउन एक्स्ट्रिमको साथ महत्वपूर्ण रहने विश्वास दुवै पक्षले व्यक्त गरेका छन्।

View : 23

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved