काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले पार्टी यतिबेला चुनौतीपूर्ण अवस्थामा रहेको दाबी गरेका छन् ।
आज बिहीबार आफ्नै निवास बुढानिलकण्ठमा आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उनले कांग्रेसको परम्परागत जनाधार खस्किएको भन्दै पार्टीलाई पुनः सशक्त र लोकप्रिय बनाउने अभियानमा वृहत् एकता आवश्यकता रहेको बताएका हुन् ।
उनले पार्टीभित्र १५औँ महाधिवेशन नियमित रूपमा गर्नुपर्ने पक्षधर समूह र विशेष अधिवेशनमार्फत नेतृत्वमा पुगेका समूहबीच देशभर मनोवैज्ञानिक खाडल विद्यमान रहेको बताए । उनले यस्तो अवस्था कायम रहे पार्टी अझ कमजोर बन्नसक्ने चेतावनी दिँदै उनले आन्तरिक समझदारी र सहकार्यको आवश्यकता औँल्याए ।
उनले भने, ‘नेपाली कांग्रेस पार्टीको चुनौतीपूर्ण घडीमा रहेको छ । पार्टीको जुन जनधार थियो, त्यो अहिले खस्केको अवस्था छ । पार्टीको १५औँ महाधिवेशन नियमित गर्ने भन्ने एउटा पक्षका साथीहरू र विशेष अधिवेशनमा भाग लिएर एउटा नेतृत्वमा पुगेका व्यक्तिहरू बिचमा देशभरी एउटा मनोवैज्ञानिक खाडल विद्यमान छ ।’
उनका अनुसार वृहत् एकताका लागि १५औँ महाधिवेशनको निष्पक्षता, पारदर्शिता, स्वामित्व र सहभागिता सुनिश्चित हुनुपर्छ । त्यसका लागि नियमित महाधिवेशनको पक्षमा रहेका नेता र विशेष अधिवेशनबाट निर्वाचित नेतृत्वबीच सहमति र समझदारी आवश्यक रहेको उनले बताए ।
उनले भने, ‘वृहत् एकताको लागि १५औँ महाधिवेशनको निष्पक्षे निष्पक्षता, पारदर्शिता, स्वामित्व र सहभागिता सुनिश्चित हुन आवश्यकता रहेको छ । त्यसको लागि नियमित अधिवेशन नेतृत्व गरेका साथीहरू र विशेष अधिवेशन लागि निर्वाचित भएका साथीहरू एउटा समझदारी हुन जरुरी छ ।’
महतले आगामी १५औँ महाधिवेशन निष्पक्ष र विश्वसनीय ढंगले सम्पन्न हुने सुनिश्चितता हुनसके मात्रै पार्टीभित्रको विश्वास बलियो बन्ने र कांग्रेस पुनः सुदृढ हुने विश्वास व्यक्त गरे ।
View : 24
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved