विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा पछिल्ला दिनमा रगतको गम्भीर अभाव देखिएको छ। रगत नहुँदा तत्काल रगत आवश्यक पर्ने बिरामीले समेत समयमै रगत पाउन नसक्दा उपचारमा कठिनाइ भएको छ।
दशैंपछि सबै समूहका रगत अभावग्रस्त रहेको विराट ब्लड बैंकका इन्चार्ज प्रबिण दाहालले जानकारी दिए। उनका अनुसार सामाजिक संस्थाहरूबाट हुने नियमित रक्तदान कार्यक्रम ठप्प हुँदा विराट मेडिकलसहित विराटनगरका अन्य अस्पतालमा समेत रगतको आपूर्ति संकट भएको हो।
“हाल पोजेटिभ समूहका रगत पनि सहजै उपलब्ध छैनन्,” दाहालले भने, “दैनिक १०० देखि १२० पिन्टसम्म रगतको माग हुने गर्छ, तर अहिले दिनमा १५–२० जनामात्र रक्तदान गर्न आउँछन्।”
रगत अभावका कारण दुर्घटनाका घाइते, गर्भवती, सुत्केरी, शल्यक्रिया गर्नुपर्ने बिरामी, दीर्घ रोगी तथा नियमित रूपमा रगत चाहिने बिरामी सबै प्रभावित भएका छन्।
नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार विराटनगरमा सुविधा सम्पन्न अस्पतालहरू रहेकाले टाढाटाढाबाट बिरामीहरू आउने गर्छन्, जसले रगतको माग अझ बढाएको छ। माग बढ्दै जाँदा केन्द्रमा रगतको आपूर्ति टुट्ने अवस्था सिर्जना हुने गरेको संस्थाको भनाइ छ।
हस्पिटलमा चिकित्सकले रगत आवश्यक भएको बताउनेबित्तिकै बिरामीका आफन्तहरू सम्बन्धित समूहको रगत खोज्दै भौंतारिनुपर्ने अवस्था आएको छ।
विराट मेडिकल कलेजले आन्तरिक रूपमा आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई रक्तदान गर्न आह्वान गरेको छ। साथै, ब्लड बैंकले सबै सक्षम व्यक्तिहरूलाई नजिकैको रक्त केन्द्रमा पुगेर रक्तदान गर्न अनुरोध गरेको छ।
रगत दान गर्न इच्छुकले विराट ब्लड बैंकको सम्पर्क नम्बर ९८०२७०९०८१ मा सम्पर्क गर्न सक्ने ब्लड बैंकले जनाएको छ।
View : 91
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved