लाग्यो श्रावण
विराटनगर , श्रावण१
शहरका गल्ली–गल्लीमा हरिया चुरा, पहेँला पोते र रातो सारीले सजिएका महिलाहरू, मन्दिरमा बिहानैदेखि गुञ्जिरहने घन्टी र ‘ॐ नमः शिवाय’को ध्वनि, सडकभरि गुञ्जिने बोलबमको स्वर र मन्दिरतर्फ लम्केका भक्तजनहरू। नेपाली समाजमा श्रावण महिनाले यस्तै आस्था र रंगीनता बोकेर आउँछ।
सूर्य कर्कट राशिमा प्रवेश गरेसँगै सुरु हुने श्रावण महिना केवल वर्षातको समय होइन। यो मानव र प्रकृतिबीचको सम्बन्ध सम्झाउने, मनलाई शुद्ध बनाउने र भगवान् शिवको आराधनामा समर्पित हुने समय पनि हो। यही दिनदेखि सुरु हुने सौर महिनालाई श्रावण भनिन्छ, जसको नाम श्रवण नक्षत्रयुक्त पूर्णिमाबाट आएको मानिन्छ।
श्रावण महिना नेपाली समाजमा धार्मिक र सांस्कृतिक रूपमा गहिरो रूपमा गाँसिएको छ। पौराणिक ग्रन्थहरू पल्टाउँदा यस महिनामा भएका अद्भुत घटनाहरूको कथा भेटिन्छ। हिमालयकी पुत्री पार्वतीले यही महिनामा कठोर तप गरेर शिवलाई पति पाउने वर प्राप्त गरिन्। मृकण्डुमुनिका छोरा मार्कण्डेयले महामृत्युञ्जय मन्त्र जप्दै मृत्युलाई जिते। समुद्र मन्थनका बेला निस्केको हलाहल विष शिवले आफ्नो कण्ठमा धारण गरेर सृष्टिलाई जोगाए। यसैले श्रावण महिनालाई शिवको प्रिय महिना मानिएको हो।
यही महिनामा सोमबार, प्रदोष र श्रावणका दिनहरू शिव–भक्तिका लागि सबैभन्दा पवित्र मानिन्छन्। सोमबार विशेषगरी महिलाहरूले सौभाग्य र आरोग्यको कामना गर्दै व्रत बस्ने चलन छ। कोही निराहार बस्छन्, कोही फलाहार गर्छन्। तर शास्त्रका अनुसार मनदेखि श्रद्धा राखेर गरिएको पूजा र व्रतले नै सबैभन्दा ठूलो फल दिन्छ।
श्रावण सुरु भएसँगै मन्दिरहरूमा गङ्गाजल, दूध र बेलपत्र चढाउने भक्तजनहरूको भिड लाग्छ। बाटाभरि बोलबमको रौनक देखिन्छ। मन्दिरअगाडि लामो लाइन लाग्ने र मानिसहरूको अनुहारमा देखिने भक्ति यस महिनाको सबैभन्दा मनछुने दृश्य हुन्छ।
श्रावणसँगै चाडपर्वहरूको पनि थालनी हुन्छ। साउने संक्रान्तिमा लुतो फालेर वर्षभरिको आरोग्यको कामना गरिन्छ। त्यसपछि नागपञ्चमी, जनैपूर्णिमा, गाईजात्रा, मधुश्रावणी जस्ता चाडपर्वहरू पनि यही महिनामा पर्दछन्। नेपाली महिलाहरूले यस महिनामा हरियो चुरा, रातो सारी, पहेँलो पोते र हातमा मेहेन्दी लगाएर आफूलाई सजाउने गर्छन्। यी रङहरूले सौभाग्य, आरोग्य र आत्मबलको प्रतीक मानिन्छन्।
शास्त्र भन्छ — श्रावणमा कम्तीमा एक दिन भए पनि व्रत बस्दा पुण्य प्राप्त हुन्छ। परिस्थिति जे भए पनि मनदेखि श्रद्धा राखेर गरिएको साधनाले फल दिन्छ। श्रावण महिना अर्धनारीश्वर शिव–पार्वतीको आराधना गर्ने, दाम्पत्य जीवनमा सामञ्जस्य राख्ने र परस्पर सम्मानको सन्देश दिने समय हो।
यसैले श्रावण महिना केवल मौसमको परिवर्तन होइन, श्रद्धा, साधना र सृष्टिप्रतिको सम्मानको महिना पनि हो। प्रत्येक वर्ष यो महिनाले प्रकृति र भक्ति दुबैलाई जोड्दै नेपाली समाजमा एउटा छुट्टै रौनक ल्याउँछ।
View : 278
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved