Biratnagar, Morang, Nepal
गरिखानेका कथा

चिकित्सक बन्ने सपना छाडेर उद्यमशीलताको बाटो, रञ्जित भगतलाई प्रेरणादायी युवा सम्मान

-
अखवारका कुरा
१८ कार्तिक २०८३, मङ्गलवार

Advertisement

 

विराटनगर : चिकित्सक बन्ने सपना बोकेका रञ्जित भगत अहिले औषधि उत्पादनमार्फत नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्यसहित उद्यमशीलतामा सक्रिय छन्। पारिवारिक जिम्मेवारीका कारण चिकित्सा अध्ययन छाडेर व्यवसायमा प्रवेश गरेका भगतलाई विराटनगर जेसीजले ‘प्रेरणादायी युवा सम्मान’ प्रदान गरेको छ।

विराटनगर जेसीजको जेसीज सप्ताहअन्तर्गत आयोजित कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्की, पूर्वराष्ट्रिय अध्यक्ष फूलकुमार लालवानी, पूर्वसांसद योगेन्द्र मण्डल, विराटनगर जेसीजका अध्यक्ष कविराज दाहाल र वरिष्ठ कार्यकारिणी उपाध्यक्ष रञ्जनकुमार शाहीले भगतलाई सम्मान गरेका हुन्। सप्ताहको मुख्य कार्यक्रम संयोजक रञ्जनकुमार शाही तथा कार्यक्रम संयोजक मनोज तिवारी थिए।

एलेक्सा लाइफ साइन्सका सञ्चालक निर्देशक भगतले नेपालमै औषधि उत्पादन गरी आयातमा निर्भरता घटाउने उद्देश्यसहित स्लाइन उत्पादन उद्योग सञ्चालन गर्दै आएका छन्। उनका विभिन्न व्यावसायिक गतिविधिमार्फत ३०० भन्दा बढीले रोजगारी पाएका छन्। औषधि उद्योगसँगै व्यापार, इँटा उद्योग, कोइला व्यवसाय र पेट्रोल पम्पलगायतका क्षेत्रमा पनि उनको लगानी छ।

एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तासमेत दिएका भगतले बुबाको स्वास्थ्यमा समस्या आएपछि चिकित्सा अध्ययनलाई निरन्तरता दिन सकेनन्। पारिवारिक जिम्मेवारी सम्हाल्दै व्यवसायमा जोडिएका उनले त्यसपछि व्यापार र उद्योगका क्षेत्रमा आफ्नो संलग्नता विस्तार गर्दै लगे। अहिले स्वदेशमै औषधि उत्पादनको क्षमता बढाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यसहित अघि बढिरहेका छन्।

व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय भगतले लियो क्लबदेखि जिल्ला तथा राष्ट्रिय तहसम्म विभिन्न नेतृत्वदायी जिम्मेवारी सम्हालिसकेका छन्। उनी अमेरिकी दूतावासको युथ काउन्सिलका सदस्यसमेत रहिसकेका छन्। उद्योग संगठन मोरङ र मोरङ व्यापार संघमा आबद्ध उनी नेपालिज यङ इन्टरप्रेनर्स फोरम विराटनगरका पूर्वअध्यक्ष पनि हुन्।

सम्मान ग्रहणपछि भगतले यसबाट आफूलाई थप हौसला र प्रेरणा मिलेको बताए। आगामी दिनमा अझ राम्रो ढंगले व्यावसायिक तथा सामाजिक यात्रालाई अघि बढाउने उनको भनाइ छ। 

विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालले भगतको व्यावसायिक तथा सामाजिक गतिविधिलाई आफूले नजिकबाट नियाल्दै आएको बताए। भगतले आफ्नो काम र सक्रियतामार्फत हजारौँ युवालाई प्रेरित गरिरहेको उल्लेख गर्दै दाहालले सामाजिक सेवाका क्षेत्रमा समेत उनको सक्रियता प्रशंसनीय रहेको बताए। भगतको यही योगदान र युवामाझ सकारात्मक प्रभावलाई कदर गर्दै सम्मान प्रदान गरिएको उनको भनाइ छ।

View : 284

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved