विराटनगर : विजया दशमीको अवसरमा सिद्धार्थ स्पोर्टिङ क्लब, विराटनगर–९ ले ‘दशैं कप २०८३ इन्डोर क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ। विराटनगरस्थित भीआईपी रोडमा रहेको जेनियल फुटसलमा असोज २७ र २८ गते प्रतियोगिता सञ्चालन हुनेछ।
क्लबले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधि अफताब अलिले प्रतियोगिताको तयारीबारे जानकारी दिएका हुन्। युवालाई खेलकुदमा सक्रिय बनाउँदै आपसी सद्भाव, भाइचारा र खेल भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए।
प्रतियोगितामा १२ टोली सहभागी हुनेछन्। लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका लागि प्रत्येक टोलीको प्रवेश शुल्क चार हजार एक सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले नगद २१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेतालाई नगद ११ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलगायत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता सञ्चालन गर्न करिब एक लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सहभागी टोलीको प्रवेश शुल्क, स्थानीय संघसंस्था, व्यावसायिक प्रतिष्ठान तथा प्रायोजकको सहयोगबाट खर्च व्यवस्थापन गरिने अलिले जानकारी दिए।
दशैंको उत्साहलाई खेलकुदसँग जोड्दै युवालाई रचनात्मक र सकारात्मक गतिविधिमा सहभागी गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको उनले बताए। स्थानीय क्रिकेट प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलाडीबीच अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न प्रतियोगिताले सहयोग पुर्याउने आयोजकको अपेक्षा छ।
View : 29
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved